कविता लेखिहाल्छु भनेर मात्र हुँदैन, यसका लागि एकदमै तपस्या गर्नुपर्छ : प्रज्वल अधिकारी
लमजुङमा जन्मिएका कवि प्रज्वल अधिकारी पछिल्लो पुस्ताका सशक्त कवि हुन्। वाचन शैलीका कारण श्रोतामाझ आफूलाई स्थापित गर्न सफल भएका कवि अधिकारीले अंग्रेजी साहित्यमा स्नातकत्तोर गरेका छन्।
काठमाडौं प्रवेश गरेपछि भारी बोक्न थाले। उनी पढ्नकै लागि भारी बोक्ने गरेको सुनाउँछन्। भारी बोकेपछि पैसा आउँछ, पढ्न पाइन्छ र पढेपछि ठूलो मान्छे भइन्छ। यो बाहेक उनीमा केही आशा थिएन। भारीलाई सिँढी बनाए र पढे।
२०७० को दशकमा उनले कविता लेख्न थाले। त्यो पनि कविता बुझेर। माध्यामिक शिक्षा अध्ययन गर्दा लेखेका गीत, गजलहरुलाई अब विस्तारै बिर्सँदै गए। कवितामा रम्ने र जम्ने उनमा भोक जाग्यो।
बाचन शैलीलाई निखारे। बाचन शैलीले श्रोतामाझ आफूलाई स्थापित पनि गरे। युग बोकेको कविता लेख्ने कविको ट्याग भिर्ने क्रममै छन् अधिकारी। उनै बाचन शैली र कविताका शब्दले युवा पुस्ताका चर्चित कवि अधिकारीसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः
यहाँको कविता यात्रा कहिलेबाट सुरु भयो ?
मैले ९/१० पढ्दा गीतहरु लेख्ने गर्थेँ। मैले कविता नै भनेर लेखेको भनेको २०७० को दशकदेखि हो।
युवाहरुले एकदमै रुचाएका पनि छन्। यहाँको बाचन शैली र कविताको शब्द चयनले यो कुरालाई दिएको होला। तर, कविता लेख्नु कि झैं लाग्छ भन्नु हुन्छ यसको कारण के होला ?
कविता लेख्छु कि जस्तो लागेको किन हो भने कति लेखिसकेपछि कवि भइन्छ भन्ने थाहा छैन मलाई। कस्तो लेखेपछि कवि भइन्छ भन्ने थाहा छैन। तर, म हरेक दिन आफ्नै सृजनाहरु हेरेर यो भन्दा राम्रो लेख्न सक्छु कि भन्ने प्रयत्न गर्ने, त्यो भन्दा राम्रो कविता लेख्ने चाहना राख्ने भएकाले आपूलाई कवि बन्ने प्रयत्नमै छु जस्तो लाग्छ।
अंग्रेजी विषयमा स्नातोकत्तर गर्नु भएको छ। मान्छेहरु जागिरका लागि भौंतारिएको हुन्छन्। यहाँले जागिर छोडेर किन साहित्य तिर आउनु भयो ?
पहिलो कुरा तपाईँ के गर्दा खुसी हुनुहुन्छ भन्ने कुरा हो। कविता लेख्दा, यो माहाेलमा डुब्दा मैले आफूलाई जति आनन्दित महशुस गर्छु नि त्यो सन्तुष्टि मलाई जागिरमा मिल्दैन। कुनै न कुनै पुस्ताले कुनै न कुनै क्षेत्रको लागि केही न केही दुःख गर्नु पर्छ। त्यो दुःखले आउने पुस्तालाई सहयोग पनि गर्छ झैं लाग्छ।
अर्को कुरा मेरो स्नातोकत्तर अंग्रेजी साहित्य विषयमा हो। मैले पढ्दै जाँदा कस्तो लाग्यो भने समाजामा आन्दोलन, क्रान्तिले तत्काल परिवर्तन त ल्याउँदैन तर, दूरगामी मार्गनिर्देश गर्छ भन्ने लाग्यो। मैले लेखेका कविताले त्यो बाटो लिए लिएनन्। मैले लेखिरहेको छु। यो क्रम जारी रहने छ।
कविता लेख्न कत्तिको गाह्रो हुन्छ ?
कविता लेख्न एकदमै गाह्रो हुन्छ। त्यसमा लगाइने बिम्ब, प्रतिक, आफूले भन्न खोजेको विषयवस्तु, चित्र आद सबै अटाउनु पर्छ। लेख्दा शब्द चयन, शिलशिलाबद्ध यस्ता धेरै कुराले महत्व राख्छन्। हामीले कविता लेखिहाल्छु भनेर मात्र हुँदैन यसका लागि एकदमै तपस्या गर्नुपर्छ भन्ने लाग्छ।
मुक्त छन्दमा कलम चलाउनु भएको छ। छन्दमा कविता लेख्नु भयो ?
मैले लेखेको छैन। माध्यामिक विद्यालयको पढाईले छन्दका बारेमा बुझायो। उच्च शिक्षामा साहित्य नै लिएर पढेँ। तर, अंग्रेजी। अहिले पनि कविता लेख्दै छु। छन्द त जति सिकेको थिएँ त्यो पनि अगाडि बढाउन सकेन। मैले लेख्न सक्दैन होला भन्ने नै हो कारण त।
छन्दका बारेमा केही विवादास्पद भनाइ पनि बाहिरिन्छन नि ?
म त्यो पक्षमा छैन। सबै साहित्य विधाहरु त्यतिकै सम्मान योग्य हुन्छन्। कसैलाई कुनै विधाका लागि पठाइएको हुन्छ कसैले कुनै विधानमा कलम चलाइरहनु भएको पाइन्छ। हामी साहित्यमा कलम चलाउनेहरु सहृदयी हौं। यो राम्रो यो नराम्रो भन्ने पक्षमा म छैन।
कविले ढुङ्गामा पनि प्राण देख्छ। ढुङ्गामा पनि प्राण देख्ने हामीले मान्छेलाई, वा अरु कसैले लेखिरहेको विधालाई यस्तो र उस्तो भन्न मिल्दैन। राम्रो सृजना जसले लेखेको होस्, जुनसुकै विधामा लेखिएको होस् त्यसलाई सम्मान गर्नुपर्छ।
विविधतामा एकता भनेको पनि यही हो। कविले ढुङ्गामा पनि प्राण देख्छ। ढुङ्गामा पनि प्राण देख्ने हामीले मान्छेलाई, वा अरु कसैले लेखिरहेको विधालाई यस्तो र उस्तो भन्न मिल्दैन। राम्रो सृजना जसले लेखेको होस्, जुनसुकै विधामा लेखिएको होस् त्यसलाई सम्मान गर्नुपर्छ।
लम्जुङमा जन्मेको मान्छे काठाडमौंमा हुनुहुन्छ। कविता पनि लेख्नु हुन्छ। कविता लेखेरै बसौंला जस्तो लागेर आउनु भएको हो ?
कविता लेखेर बस्न अहिले पनि सकेको छैन। हामी कविता लेख्दै छौं। कविता लेखन कतिबेला पागलपन हो जस्तो पनि लाग्छ। साहित्यिक माहोलमा बस्ने, कविता लेख्ने यो पागलपनले पैसा हेर्दो रहेनछ। र अर्को कुरा सबै मान्छेहरु पैसा कमाउनकै लागि मात्र जन्म लिँदैनन्।
पैसा कमाउने काम र कविता लेख्ने काम फरक फरकलाई दिन्छ सृष्टिले जस्तो लाग्छ । काठमाडौं म खास पढ्नकै लागि आएको हुँ। मैले दुःख गरेर नै मास्टर्ससम्म पढेँ। आफूले व्यक्त गर्न खोजेको कुरा कविताबाट लेख्न सक्छु कि जस्तो लागेर कविता लेख्न थालेको हुँ।
अलिकति अतित सम्झाउन चाहेँ मैले। भारी बोकेर पढ्दै गर्दाका दिन अहिले सम्झनामा आउँछन् ?
त्यो भारी बोक्दा भारी बोकेको जस्तै लाग्दैन थियो। म पढ्नु छ भन्ने मात्र सोच्थेँ मैले। भारी नबोक्ने वित्तिकै त मैले भोलि पढ्न नै पाउँदैन। त्यसका लागि पनि पढ्नु पर्ने थियो। र त्यसलाई मैले रमाइलोको रुपमा लिएँ। भारी बोक्नुलाई मैले आफ्नो जिन्दगी माथि लानु छ भन्ने बुझिन। यसमा टेकेर म पढ्नु छ। पढेपछि राम्रो हुन्छ भन्ने मात्र लाग्थ्यो।
लेखेरै बाँच्न कति सजिलो छ ?
हाम्रो देशको अवस्था हेर्दा लेखेरै बाँच्ने अवस्था अझै आएको छैन कि जस्तो लाग्छ। हामी भन्दा पहिलाका कविहरुले स्वान्त सुखाय भनेर लेख्नु भयो। आनन्दको लागि लेख्नु भयो। यसलाई व्यवसायिक बनाउनु पर्छ भन्ने नै भएन। यसबाट आम्दानी गर्नुपर्छ, जीविकोपार्जन पनि गर्न सकिन्छ है भन्ने भएन। एउटा कलाकारले गीत गाएर खानसक्छ भने कविले कविता लेखेर खान सक्दैन भन्ने नै हुँदैन।
हामीले त्यो कुरालाई ध्यान दिएनौं। हामीले यो कुरा सोचेका छौं। हाम्रो पुस्ताले यो विधालाई पनि व्यवसायिक बनाउन सकिन्छ भन्ने कुरा बुझ्न जरुरी छ भनेर लागि रहेका छौं। विभिन्न पेशा गरेको मान्छेले पैसा लिएर सेवा दिनु हुन्छ भने हामी कविहरुले पनि कतै कविता बाचन गर्न जाँदा बरु थोरै किन नहोस् पारिश्रमिक लिने र दिने बानीको विकास गर्नु पर्छ भन्ने मेरो बुझाइ छ।
कविता लेखनमा लामो अनुभव छैन भन्नु भयो। यहाँले पछिल्लो कविता लेख्न चाहने पुस्तालाई के टिप्स दिन चाहनुहुन्छ।
टिप्स नै भन्ने त हुँदैन। तर, कवितालाई पर्खन सक्नु पर्छ। आजै कविता लेख्छु। भोलि नै कविता लेख्छु भन्दा पनि हामी सक्रिय भएर कवितालाई पर्खियौं। कविता म भित्र छ र मैले लेख्ने हो जस्तो मलाई लाग्दैन। कविता हामीसँग शून्यतामा कतै छ। उसले एउटा माध्याम खोजि रहेको छ। त्यो माध्याम म भए भने मैले लेख्छु। अर्को कवि भएको ठाउँ गयो भने अर्कोले लेख्नु हुन्छ।
लेख्ने कुरामा लेखिरहनु पर्छ। हामी कविता आउँछ अनि लेख्छु भन्ने तर्फ बुझ्न थाल्यौं भने हुँदैन। मैले भने शून्यतामा भएको कविताले माध्याम खोजिरहेको हुन्छ। त्यो शून्यताको माध्यम बन्न तपाईँको लेखनको निरन्तरता अनिवार्य हो। कृषकले हरेकदिन बारीमा गएर गोडमेल गरेमात्र बाली सप्रिने हो। हामीले पनि आफ्नो बालिनालि भनेर सम्झिनु पर्छ।
Facebook Comment