गोकुलको संकेत, विप्लवको विज्ञप्ति र ओलीको घोषणा
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरको सभामा पुगेर प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूहसँग सरकार वार्तामा बस्ने घोषणा गरे । प्रधानमन्त्रीज्यूले केही घोषणा गर्दै हुनुहुन्छ भन्ने गाईंगुईं विहानैदेखि चलाइएकै थियो । यही हल्लालाई पुष्टि गर्दै प्रधानमन्त्री ओलीले हिंसात्मक आन्दोलन गर्दै आएको नेत्रविक्रम चन्द विप्लवको प्रतबन्धित समूहसंग वार्ता गर्ने घोषणा गरेका हुन् ।
तर, प्रधानमन्त्रीको घोषणा आउनुपूर्वनै पूर्वमन्त्री गोकुल बाँस्कोटाले यसबारे संकेत गरेका थिए । उनले विहान ७ बजेर ४७ मिनेटमा एउटा छोटो ट्वीट गरेका थिए । र, त्यसमा लेखेका थिए— ‘आज के हुन्छ ? पक्कै केही नयाँ …’
बाँस्कोटाको यो संकेतलाई धेरैले प्रदेशसभा विगठन वा यस्तै केही कदमसँग जोडेर टिप्पणी गरेका पनि थिए तर उनको संकेत विप्लवसँगको वार्ताको घोषणासँंग रहेछ भन्ने कुरा विप्लव स्वयंले बक्तव्य जारी गरेपछि पुष्टि भएको थियो । विप्लवले बक्तव्यमा ‘आमजनसमुदायमा सहज गतिविधि गर्ने र वातावरण बन्ने अवस्थामा’ सरकारसँग वार्ताका लागि तयार भएको कुरा उल्लेख गरेका छन् । उनले बक्तव्यमा प्रतिबन्ध शब्दको प्रयोग नगरी सहज गतिविधि गर्न पाए वार्ता गर्ने उल्लेख गरेका छन् । विप्लव समूहका ठूला नेता हेमन्तप्रकाश ओली अहिले जेलमा छन् भने अरु थुप्रै नेता कार्यकर्ताहरु पनि पक्राऊ परेका छन् ।
प्रधानमन्त्री ओलीले मधेश आन्दोलन गर्दै मधेशलाई छुट्टै देश बनाउनुपर्छ भन्दै सशस्त्र विद्रोह नै गरिरहेका डा.सिके राउतको समूहलाई पनि वार्तामा ल्याई देश विभाजनको मुद्धा त्याग्ने अवस्थामा पुर्याएका थिए । अहिले विप्लवसँगको वार्ताको घोषणाले यो समूह पनि सशस्त्र विद्रोह त्याग गरेर केही सम्झौताका माध्यमबाट सत्ता साझेदारी गर्दै शान्तिपूर्ण राजनीतिमा आउनसक्ने देखिएको छ ।
Facebook Comment