नयाँ सरकार बन्न नसके ताजा निर्वाचन : पूर्वमन्त्री बस्नेत

रासस
१२ फागुन २०७७ २२:२९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताएका छन् ।

राष्ट्रिय युवासङ्घ नेपालको पहिलो पूर्ण बैठकमा आज उनले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहने दाबी गरे । प्रतिनिधिसभा सदस्य बस्नेतले भने, “सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्, पहिलो विकल्प अबको प्रधानमन्त्री ओली नै रहनुहुन्छ, दोस्रो, संविधानअनुसार नयाँ सरकार बन्ने अवस्था नभए पुनः निर्वाचनको मिति तय गर्दै ताजा जनादेशमा जान्छ र तेस्रो, नेकपाकै एक समूहले आत्मघाती कदम चाल्दै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न सक्नेछन् ।”

पूर्वमन्त्री बस्नेतले कुर्सी र सत्ता स्वार्थका लागि मात्र केही नेताहरु प्रयोग भएकाले प्रधानमन्त्री ओलीले संसद् विघटन गरी ताजा जनादेशमार्फत मुलुकमा राजनीतिक स्थिरता तथा विकास र समृद्धिको यात्रामा अगाडि बढाउन खोजेपनि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिँदा राजनीतिक सङ्कट आएको उनको भनाइ थियो ।

युवा सङ्घका इञ्चार्ज बस्नेतले प्रधानमन्त्री ओलीकै वरिपरि अबको दशौँ वर्ष नेपालको राजनीति घुम्ने दाबी गर्दै नेपालको राजनीतिको मिसन र भिजन ओलीको वरिपरि घुमिरहेको जिकिर गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसद्मा करीब ६४ प्रतिशतभन्दा बढी मतसहित झण्डै दुई तिहाइको नेतृत्व नेकपाका अध्यक्ष ओलीसँगै रहेको चर्चा गर्दैै उनले संसद्बाट अर्को सरकार बन्न कठिन रहेको दाबी गरे ।

संसदीय दलको निर्विरोध नेताका रुपमा समेत प्रधानमन्त्री ओली नै रहेको स्पष्ट पार्दै उनले पार्टी औपचारिक विभाजन नभएकाले नयाँ सरकार बन्ने अवस्था नरहेको भनाइ राखे ।

उनले किस्तीमा राखेर प्रधानमन्त्री कांग्रेस वा जसपाका नेतालाई सुम्पिए प्रचण्ड–नेपाललाई कम्युनिष्ट इतिहासले कहिल्यै माफी नगर्ने पनि टिप्पणी गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *