आज विप्लव सार्वजनिक हुँदै

डिसी नेपाल
२१ फागुन २०७७ ७:५२

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) आज सार्वजनिक हुने भएका छन्। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव २ वर्षपछि सार्वजनिक हुन लागेका  हुन्। उनीसँगै अन्य नेताहरु पनि सार्वजनिक हुने भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो। वार्ता सफल भएपछि मन्त्रिपरिषदको उक्त निर्णयले विप्लवलाई सार्वजनिक हुन सजिलो भएको हो।

आज प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवले एउटै कार्यक्रमबाट सम्बोधन गर्ने कार्यक्रम राखिएको छ। सरकारले प्रतिवन्ध लगाएपछि भूमिगत राजनीति गरेको विप्लव समूहका नेता तथा कार्यकर्ता रिहाई हुने भएका छन्।

आफ्नो कार्यकर्तामाथि लागेका मुद्दा खारेज गर्ने र गिरफ्तारीमा परेका कार्यकर्तालाई रिहाई गर्ने विप्लवको मागमा सरकार सकारात्मक भएपछि वार्ता सम्भव भएको हो।

२०७५ सालको फागुन २८ गते सरकारले प्रतिवन्ध लगाएपछि उनी भूमिगत भएका थिए। सरकारले तत्कालीन अवस्थामा विप्लव समूहका गतिविधिहरु शंकास्पद रहेको भन्दै प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्ध लगाएको २ वर्ष पुग्नै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरको कार्यक्रममा विप्लवलाई मूलधारको राजनीतिमा आउन आग्रह गरे। सोही दिन महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वार्ता प्रति सकारात्मक रहेको जानकरी दिएका थिए।

गएको मंगलबार सरकारपक्ष र विप्लव समूहको तर्फबाट वार्ता टोली गठन भएको थियो। सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय विप्लव समूहको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा दुई सदस्यीय टोली गठन भएको थियो।

बुधबार पहिलो चरणको वार्ता सकारात्मक भएपछि प्रकाण्ड मन्त्री क्वाटर पुगेका थिए। बिहीबार ३ बुँधे सहमति गरेपछि वार्ता सफल भएको हो।

विप्लवसँगको वातालाई प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो राजनीतिक सपलताका रुपमा लिइएको छ। पहिलो पटक ७५ सालको फागुनमै तराईमा पृथकतावादी आन्दोलन चलाएका डा. सिके राउतलाई मूलधारको राजनीतिमा ल्याएर पहिलो सफलता हासिल गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *