महिला हिंसा रोक्न कानूनको कार्यान्वयन गर्नुपर्छः मन्त्री महतो

डिसी नेपाल
२१ फागुन २०७७ १५:१७

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा न्यूनीकरणका लागि कानूनको कार्यान्वयनमा कडाइ गर्नुपर्ने बताएकी छन्। एकसय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रिय आदिवासी महिला महासंघले शुक्रबार आयोजना गरेको ‘आदिवासी महिला र कोभिड–१९’ सम्बन्धी राष्ट्रिय अन्तरक्रियाको उद्घाटन समारोहमा उनले यस्तो बताएकी हुन्।

मन्त्री महतोले महिला हिंसा न्यूनीकरण गर्ने कानून धेरै भएको तर प्रभावकारी कार्यान्वयन नहुने महिला हिंसा न्यूनीकरणका कठिनाइ भएको बताएकी छन्। ‘नेपालमा संविधान र कानूनले महिला हिंसा नियन्त्रणसम्बन्धी धेरै व्यवस्था गरेको छ’ मन्त्री महतोले भनिन, ‘तर प्रभावकारीरुपमा कार्यान्वयन हुन नसक्दा हामी चिन्तित छौँ, कार्यान्वयनको तहमा अति बढी ध्यान दिनुपर्ने जरुरी छ।’

शिक्षा र आर्थिक महिलाको पहुँचमा पुग्न सकेमा समाजमा महिलामाथि हुने हिंसा विस्तारै कम हुँदै जाने उनको भनाइ थियो। मन्त्री महतोले महिला मन्त्रालयले भर्खरै लैङ्गिक समानता नीति पारित गरी लागू गरेको र त्यो तीनवटै प्रदेशमा लागू गरिने जानकारीसमेत दिइन्।

मन्त्रालयका सचिव यामकुमारी खतिवडाले संविधानको मौलिक हकमै महिलासम्बन्धी हकको व्यवस्था गरेको र त्यो हकका लागि महिलाले आफैले आवाज उठाउनुपर्नेमा जोड दिइन्। उनले महिलाको तुलनामा प्रगति राम्रो हुँदै गए पनि समाजमा अझै पनि महिला हिंसाका घटनामा कमी आउन नसक्नु चुनौतीको विषय रहेको बताइन्।

यस वर्षको अन्तर्राष्ट्रिय दिवस ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने रहेको छ। कार्यक्रममा आदिवासी जनजातिसम्बन्धी एनिमेसन गरिएको भिडियोसमेत प्रस्तुत गरिएको थियो। उक्त भिडियोमा आदिवासी जनजातिले गर्दै आएका काम र तिनीहरुको परम्परागत पेशा गर्दा भोग्नुपरेका पीडाका विषय समेटिएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *