नेपाल आउने बहराइनका राजकुमारसहितको टोलीको व्यवस्थापन सेभेन ट्रेकले गर्ने

डिसी नेपाल
२४ फागुन २०७७ १२:५५

काठमाडौं। बहराइनको मनामास्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिका अनुसार बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणका लागि आगामी चैत २ गते नेपाल आउने भएको छ।

नेपालस्थित सेभेन समिट ट्रेकले सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्त गरिरहेको छ। आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले आफूहरू राजकुमारसहितको टोलीको स्वागतको पर्खाइमा रहेको तथा आरोहण अनुमतिका लागि पर्यटन विभागमा आवश्यक पहल थालिएको जनाएका छन्।

बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहेको उक्त टोली ७९ दिनका लागि नेपाल आउने भएको हो। उनीहरु विशेष विमानबाट नेपाल आउन लागेका हुन्। यसअघि सन् २०२० अक्टोबरमा सो टोलीले लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो।

त्यस्तै सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईका अनुसार उनीहरु नेपाल आएपछि सात दिन होटल क्वारेन्टिनमा बस्ने छन्। त्यसपछि गोरखाको सामागाउँ गएर पाँच दिन बस्ने र काठमाडौं फर्केर सगरमाथा आरोहणको तयारी गरि आधार शिविर प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

उनले सगरमाथा आरोहण कार्यक्रमको लागि लगभग सबै तयारी सकिइसकेको डिसी नेपाललाई बताए। उनका अनुसार उक्त टोली काठमाडौं फर्केपछि मार्चको अन्त्यमा लुक्लामा सात–आठ दिन बसेर एभेरेस्ट वेसक्यामतर्फ लाग्ने कार्यक्रम रहेको छ।

उनका अनुसार राजकुमारसहितको आरोही टोलीलाई आरोहण गराउन ६० देखि ६५ जना शेर्पा गाईड तयारी अवस्थामा छन्। राजकुमारसहितको टोलीलाई सगरमाथा आरोहण कार्यक्रम आगामी मे महिनाको दोस्रो हप्ताभित्र सकाउने योजनामा रहेको उनले जनाए। आरोहण टोली मे महिनामा फर्किने कार्यक्रम रहेको छ।

कोरोना माहामारी कारण सबैभन्दा क्षतिग्रस्त व्यवसाय भनेको पर्यटन क्षेत्र हो। तर, अहिले माहामारी कै बिच बहराइनका राजकुमारसहितको टोली सगरमाथा आरोहण गर्ने सन्देशले पर्यटक क्षेत्रमा खुसीयाली छाएको छ।

उनका अनुसार कोरोनाकै माहामारी बिच सो टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो। जसले अन्तरराष्ट्रियस्तरमा नेपालबारे राम्रो सन्देश गएको उनले बताए।

यस आरोहणले पर्यटकीय क्षेत्रमा आवद्ध शेर्पाहरुले कोरोनाका कारण बेरोजगार बसेकाहरुमध्ये तीनदेखि चार सय जनाले रोजगार पाउने निश्चित भएको छ।

ट्रेकका प्रबन्धक गुरागाईँले भने, ‘कोरोनाले सबैभन्दा प्रभावित परेको क्षेत्र पर्यटन हो। यस्तो परिस्थितिमा पर्यटक नेपाल घुम्न आउँदा हामीलाई सहयोग हुन्छ। उनीहरु हामीलाई विश्वास गरेर हाम्रो देश घुम्न आउँछन्।’

राजकुमारसहितको टोलीलाई सगरमाथा आरोहण गराउन पाउँदा सुनमा सुगन्ध हुने भन्दै उनले बहराइनका राजकुमार नेपाल भ्रमणमा आउँदा गर्वको कुरा भएको बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *