सत्ता समिकरणका लागि वार्ता गर्न जसपाले बनायो वार्ता टोली

डिसी नेपाल
२५ फागुन २०७७ १९:३७

काठमाडौं। विपक्षी दल जनता समाजवादी पार्टी (जसपा)ले सत्ता समिकरण बनाउन संसदमा रहेका सबै दलहरुसँग छलफल गर्ने भएको छ। मंगलबार बसेको सो दलको संसदीय दलको बैठकले एमाले काँग्रेस र माओवादीसँग खुला छलफल गर्न पाँच सदस्यीय वार्ता समिति बनाएको हो।

सबैसँग खुला छलफल गर्ने गरी वार्ता समिति बनाइएको सांसद विमल श्रीवास्तवले जानकारी दिए। उनले मंगलबारको बैठकले वार्ताका लागि महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अर्का एकजना रहेको वार्ता समिति बनाएको जानकारी दिए।

उनका अनुसार कुन दलसँग मिलेर सत्ता साझेदारी गर्ने भन्ने विषयमा भने सांसदहरुको एकमत रहेन। उनले डिसी नेपालसँग भने, ‘२५–३० जना सांसदहरुले आ आफ्नो धारणा राख्नु भयो। केहीले एमालेसँग मिलेर जाने कुरा गर्नुभयो केहीले एमालेसँग मिल्न नहुने कुरा गर्नुभयो। अन्तिममा आफ्नो मुद्दामा निकट दलसँग मिल्ने कुरा भएको छ। वार्ता समितिले नै अब सबै दलहरुसँग वार्ता गर्नेछ।’

उनले एमालेसँग सत्तासाझेदारीका लागि कार्यदल बनाएको भन्ने विषय भने हल्लामात्र भएको बताए। दलको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *