समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्णः मन्त्री तुम्बाहाम्फे
पोखरा । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री शिवमाया तुम्बाहाम्फेले सहकारीको माध्यमबाट टोल, समाज हुँदै मुलुकलाई समृद्धि बनाउन सकिने बताएकी छन् । राष्ट्रिय सहकारी महासङ्घले पोखरामा आयोजना गरेको ‘सहकारीमार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक प्रदेशस्तरीय गोष्ठीमा मन्त्री तुम्बाहाम्फेले मुलुकको समृद्धिका लागि सहकारी भूमिका महत्वपूर्ण हुने बताएकी हुन् ।
उनले सहकारीमा श्रम, शक्ति र पूँजीलाई आर्थिक विकासमा जोडेर अघि बढ्न आग्रह गर्दै आवश्यक परे सहकारी ऐनमा संशोधन गर्न सकिने बताइन्। उनले सहकारीमा महिलाको सङ्ख्या बढी देखिए पनि नीति निर्माण तहमा पुग्न धेरै अवरोध देखिएको बताउँदै महिलालाई अर्थपूर्ण सहभागितामा जोड दिएर सामाजिक रुपान्तरणमा समान सहभागिताको उदाहरण देखाउन पनि आग्रह गरिन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले सहकारीले आर्थिक क्षेत्रमा योगदान पुर्याएको जनाउँदै अझै महिला र युवाको सहभागिता बढाउन आवश्यक रहेकामा जोड दिइन् । प्रतिनिधिसभाका अर्का सदस्य मनकुमारी जिसीले सहकारीले उत्पादनमुखी क्षेत्रबाट आर्थिक रुपान्तरणमा गतिविधिमा जोड दिनुपर्ने धारणा राखिन् ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले ‘गण्डकी प्रदेशको समृद्धि र सहकारी अभियान’ प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव चन्द्रकला पौडेलले ‘दिगो स्थानीय आर्थिक विकासमा प्रदेश तथा स्थानीय तह सहकारीबीचको समन्वय र सहकार्य’ विषयक तथा राष्ट्रिय सहकारी महासङ्घका निर्वमान अध्यक्ष केशश बडालले ‘दिगो विकास लक्ष्यका लागि स्थानीयकरणमा स्थानीय तह र सहकारी’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए
दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र प्रमुख प्रकाशकीय अधिकृत, सहकारीका अगुवा गरी करीब २०० जनाको सहभागिता रहेको छ । सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलका अनुसार प्रस्तुत कार्यपत्रमाथि छलफल गरेर पोखरा घोषणापत्र जारी गरिनेछ ।
सो अवसरमा आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित तथा सञ्चालित धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार अनलाइनका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिएको थियो । रिलायवल वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारको राशि रु १५ हजार रहेको छ । रासस
Facebook Comment