हजुरबुवा भइसकेका व्यक्तिले ६० वर्षको उमेरमा दोस्रो विवाह गर्न नपाएपछि…
काठमाडौं। हजुरबुवा भइसकेका ६० वर्षका एक वृद्धले दोस्रो विवाह गर्न नपाएपछि ११ किलोभोल्ट विद्युत प्रसारण लाइनको पोलमा चढेर नौटंकी गरेका छन् । पाँच सन्तानका पिता यी व्यक्तिले विद्युतको पोलमा चढेर आत्महत्याको प्रयास गरेका थिए । भारतको राजस्थानको धौलपुर जिल्लाका यी व्यक्तिले अर्की एक वृद्ध महिलासँग विवाह गर्न खोजेको भारतीय मिडियाले जनाएका छन् । यी व्यक्तिले बिजुलीको पोलमा चढेर आत्महत्याको धम्की दिएर आफ्ना छोराछोरीहरुलाई विवाहको लागि राजी बनाउन दबाब दिएका थिए ।
उनी पोलमा चढेको खबर गाउँमा फैलिएपछि त्यहाँ हल्लाखल्ला भयो । यी वृद्धले पोलमा चढेर हाइटेन्सल लाइनको तार समेत समातेका थिए तर संयोगले त्यतिबेला त्यहाँ लाइन नभएकोले उनलाई केही भएन । उनी पोलमा चढेको थाहा पाएपछि परिवारले तत्कालै यसको सूचना विद्युत सब स्टेशनका कर्मचारीलाई दिएका थिए र कर्मचारीले तत्कालै लाइन काटिदिएका थिए । परिवार र गाउँलेले धेरै सम्झाएपछि मात्रै ती व्यक्ति तल ओर्लिएका थिए ।
घटना आइतबारको भएको बताइएको छ । यी व्यक्तिकी पत्नीको ४ वर्ष पहिले मृत्यु भइसकेको छ । उनका तीन छारा र २ छोरी छन् । पाँचै छोराछोरीको विवाह भइसकेको छ र उनकानातिनातिनी पनि छन् । वृद्ध केही दिन अघिदेखि दोस्रो बिहे गर्न जिद्दी गरिरहेका थिए तर छोराछोरी तयार नभएपछि घरमा झगडा भएको थियो । झगडापछि रिसाएर हिँडेका ती व्यक्ति खेतमा भएको पोलमा चढेका थिए ।
Facebook Comment