माधव समूहको निश्कर्ष : पार्टी एकतावद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीको, वामपन्थी सरकारलाई निरन्तरता

डिसी नेपाल
२६ फागुन २०७७ २०:२७

काठमाडौं। नेकपा कायम रहँदा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट टाढा रहेको माधवकुमार नेपाल समूहले एमालेमै सक्रिय हुने निर्णय गरेसँगै बुधबार समूहको भेला गरेको छ।

बानेश्वरस्थित एक होटलमा भएको केन्द्रीय सदस्यहरुको भेलालले एमालेलाई अब एकतावद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीको भएको निश्कर्ष निकालेको एमाले केन्द्रीय सदस्य रघुजी पन्तले जानकारी दिए। उनले भेलामा धारणा राख्ने सबै नेताहरुले अब भूमिका अध्यक्ष ओलीले खेल्नुपर्नेमा जोड दिएको बताए।

यस्तै भेलाले वामपन्थी सरकारलाई निरन्तरता दिनुपर्नेसमेत निश्कर्ष निकालेको छ। भेलाबारे जानकारी दिँदै केन्द्रीय सदस्य झपट रावलले भने, ‘वामपन्थी गठबन्धनले चुनाव जितेको हो।

वामपन्थी सरकारलाई नै निरन्तरता दिनुपर्छ भन्ने भेलाको निश्कर्ष छ।’ तर, उनले वामपन्थी सरकार भनेको ओली नेतृत्वकै सरकार हो की अर्का कम्युनिष्ट नेताको नेतृत्वको सरकार बनाउने भन्ने विषयमा भने स्पष्ट बताएनन्। उनले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकतालाई खारेज गरे पनि फेरि पनि एकताको पहल हुनुपर्ने भेलामा नेताहरुको धारणा आएको बताए।

ृउता सुदूरपश्चिम कमिटीको पार्टीको बोर्ड राख्ने विषयमा बुधबार कैलालीको धनगढीमा ओली समूह र माधव समूहबीच भएको झडपका विषयमासमेत भेलामा समीक्षा भएको रावलले जानकारी दिए। उनले एमालेको साधारण सदस्यसमेत नरहेको व्यक्तिलाई प्रदेश इन्चार्ज बनाएर नेमप्लेट राख्ने कोशिस भएपछि त्यहाँ झडप भएको बताए। उनले एमाले ब्युँतिएपछि एमाले उपाध्यक्ष भीम रावलनै सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज रहेको बताए।

अर्कोतर्फ ओली समूहले भने ओली नेतृत्वको सरकारका मन्त्रीसमेत रहेका तत्कालिन माओवादी नेता लेखराज भट्टले एमलेमै बस्ने बताएपछि सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज बनाउने तयारी गरेको चर्चा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *