जसपाले छान्न सकेन संसदीय दलको नेता

डिसी नेपाल
२६ फागुन २०७७ २२:५२

काठमाडौं। पुनस्स्थापित संसद बैठकमा बलियोसँग प्रस्तुत हुने बेलामा समेत जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेताविहीन छ। संघीय समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको एकिकरणपछि बनेको जसपामा अहिलेसम्म समाजवादीका तर्फबाट उपेन्द्र यादव र राजपाबाट महन्थ ठाकुरले नै संसदीय दलको प्रतिनिधित्व गर्ने गरेका छन्।

एकिकरणपछि बनेको जसपाबाट राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउन महन्थ ठाकुर तयार भए पनि उपेन्द्र यादव महतोको नामसँग सहमत नभएको पाइएको छ।

यसै बिषयमा छलफल गरी संसदीय दलको नेता छान्न भनेर मंगलबार काठमाडौंमा बसेको जसपा संसदीय दलको बैठक कुनै निर्णयमा पुग्न सकेन।

संसदीय दलको नेता छान्नका लागि बैठक बसे पनि मंगलबारको बैठकमा नेता उपेन्द्र यादवले केपी ओली सरकारसँग वार्ता गर्न गठित समिति र समिति गठन प्रक्रियाप्रति नै प्रश्न गरेका थिए। स्रोतका अनुसार मंगलबारको बैठकमा यादवले वार्ता टोलीमा आफ्नो मान्छे नराखिएकोमा गुनासो गरेका थिए।

यादवको गुनासो सम्बोधन गर्दै ठाकुरले तत्काल निर्णय गर्नुपर्ने भएकोले दुई सदस्यीय वार्ता टोली गठन गरेको र अझै पनि यादवले नाम दिएमा एकजना थप्न सकिने संकेत गरेका थिए। तथापी यादव ओली सरकारसँग वार्ता गर्न र ओलीको सरकारमा जान इच्छुक नभएका अभिव्यक्तिहरु बाहिर आइरहेका छन्।

यादव केपी ओलीको सरकार प्रतिगामी भएकोले पनि उसलाई समर्थन गर्नु वा सरकारमा जानु जसपाका लागि घातक निर्णय हुनसक्ने भएकोले यस बारेमा हतारमा निर्णय गरिहाल्नु नहुने पक्षमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *