सेना दिवसः सैनिकमञ्च टुँडिखेलमा सेनाको हर्ष बढाइँ

डिसी नेपाल
२७ फागुन २०७७ १३:४३

काठमाडौं । बढाइँ कवाजसहितको विशेष समारोह गरी नेपाली सेनाले ‘सेना दिवस २०७७’ मनाएको छ। टुँडिखेलमा सेनाका अधिकारी तथा जवानले गरेको हर्ष बढाइँ र कौशल प्रदर्शनको राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान सेनापति पूर्णचन्द्र थापाले अवलोकन गरेका थिए।

नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारीले नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार वितरण गरिन्।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका थिए।

समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपास, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शनी गरिएको थियो।

राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापनसम्बन्धी विविध गतिविधि झल्कने झाँकीसमेत प्रदर्शन गरिएका थिए। आकर्षक सैनिक कला फ्रि–फल जम्प र खुकुरी ड्रिल पनि प्रदर्शन गरिएको थियो ।

सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको देखाउने प्रस्तुति पनि देखाइएको थियो।

नेपाली सेना देशमा मात्र नभई अन्तरराष्ट्रिय क्षेत्रमा समेत भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ। समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन ‘चार जात, छत्तिस वर्ण’को फूलबारी जस्तै बनेको छ। महिलाको सहभागिता पनि उल्लेखनीयरुपमा वृद्धि हुँदै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *