जसपाको शर्तमा प्रधानमन्त्री ओली सकरात्मक

डिसी नेपाल
२७ फागुन २०७७ १९:५९

काठमाडौं। नयाँ सत्ता सकीकरणको चर्चा चलिरहेका बेला बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवासमा छलफल भएको छ। ओली नेतृत्वको सरकार अल्मतमा परिनसके पनि माओवादी केन्द्रको गतिविधि समर्थन फिर्ता लिने खालको देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपासँग यो विषयमा छलफल गरेका हुन्।

बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका थिए। छलफलपछि डिसी नेपालसँग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले छलफल सकरात्मक भएको जानकारी दिए। उनले भने, ‘सत्ता समीकरणको कुरा गर्न हामी गएका होइनौं, रेशम चौधरीलगायतको मुद्दाको विषयमा कुरा गर्न गएका हौं। प्रधानमन्त्री ओली यो विषयमा सकरात्मक देखिनु भएको छ।’

प्रधानमन्त्री ओली सजसाको शर्तमा सकरात्मक देखिए पनि सत्ता समीकरणबारे कुरा नभएको अध्यक्ष यादवले दावी गरेका छन्। उनले भने, ‘प्रधानमन्त्रीले कुरामा त सकरात्मक गर्नु भएको छ। तर, त्यो अब व्यवहारमा पनि देखिनु पर्यो। त्यसपछिमात्र सत्ता समीकरणबारे कुरा हुन्छ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले छलफल सकरात्मक रहेको जानकारी दिएका छन्। उनले शुक्रबार पनि कार्यदल स्तरमा वार्ता हुने बताएका छन्।

सर्वोच्चले तत्कालिन एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि ओली नेतृत्वको सरकार गठबन्धन सरकारमा परिणत भएको छ। प्रतिनिधिसभामा एमालेको १२१ सिट हुँदा उसलाई बहुमतका लागि अझै १५ सिटको आवश्यकता छ। जसपासँग ३४ सिट रहेकाले ओली सरकारको सत्ता टिकाउन जसपाको महत्वपूर्ण भूमिका रहने देखिएको छ। तर, हालसम्म माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन, तर वैकल्पिक सत्ता समीकरणका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौडधुप गरिरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *