नेपाली सेनाद्वारा अमेरिका र चीन सम्मानित, भारतद्वारा सम्मान अस्वीकार

डिसी नेपाल
२७ फागुन २०७७ २२:५७

काठमाडौं। छिमेकी मुलुक भारतका नेपालका लागि राजदूत विनयमोहन क्वात्रा र भारतीय सेनाका नेपालस्थित प्रतिनिधि सैनिक सहचरी कर्णेल अभिनिष जाम्बियालले नेपाली सेनाले प्रदान गरेको प्रशंसा एवं पदकलाई अस्वीकार गरेका छन्।

महाशिवरात्रिका दिन नेपाली सेना दिवस २०७७ को उपलक्ष्यमा सैनिक मञ्च टुंडिखेलमा आयोजित एक विशेष समारोहमा विश्वका तीन मुख्य शक्तिशालीमध्येका देशहरुलाई प्रशंसापत्र एवं सम्मान व्यक्त गर्ने कार्यक्रम तय भएको थियो।

जसमा संयुक्त राज्य अमेरिका, चीन र भारत थिए। नेपाल र नेपालीका लागि नेपाली सेनामार्फत महामारीको समयमा उल्लेखनीय सहयोग पुर्याएको आधारमा यी देशहरुलाई सैनिक दिवसको दिन नेपाली सेनाले प्रशंसा गर्दै सम्मान पत्र दिने निर्णय गरेको थियो।

समाचारअनुसार, कार्यक्रममा तीनै मुलुकका राजदूतहरु र्याण्डी बेरी (अमेरिका), होऊ यान्सी (चीन) र विनयमोहन क्वात्रा (भारत)को सहभागिता पनि थियो।

अमेरिकी राजदूत बेरी र चीनकी राजदूत यान्सीले नेपाली सेनाको प्रशंसालाई सहर्ष स्वीकार गरेका थिए। अमेरिकी राजदूत बेरी र चीनकी राजदूत यान्सीले नेपाली सेनाको प्रशंसालाई सहर्ष स्वीकार गरेका थिए। यी दुबै मुलक मध्ये अमेरिकाका सैनिक सहचारीले पनि प्रधान सेनापति प्रशंसा निशान सम्मान स्वीकार गरेका थिए।

तर, भारतका राजदूत क्वात्रा एवं सैनिक सहचरी दुबैले नेपाली सेनाले दिएको सम्मान स्वीकार गरेनन्। भारतीय राजदूत र सैनिक सहचरीले अस्वीकार गरेपछि उनीहरुको नाम सैनिक मञ्च टुंडिखेलमा आयोजित समारोहबाट सार्वजानिक गरिएन। तर, अमेरिका र चीनका राजदूत एवं अमेरिकाका सैनिक सहचरीलाई सोही कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रशंसापत्र दिएर सम्मान गरेका थिए।

स्रोतका अनुसार, भारतका राजदूत र सैनिक सहचारीले आफ्नो देशको प्रोटोकलका कारण आफूहरुले नेपाली सेनाको सम्मान ग्रहण गर्न नसकेको प्रष्टिकरण दिएका छन्।

स्रोतका अनुसार, भारतका राजदूत र सैनिक सहचारीले आफ्नो देशको प्रोटोकलका कारण आफूहरुले नेपाली सेनाको सम्मान ग्रहण गर्न नसकेको प्रष्टिकरण दिएका छन्।

तर, उनीहरुले भारतको के त्यस्तो प्रोटोकल छ जसले नेपाली सेनाले दिएको सम्मानपत्र लिन मिल्दैन भन्ने चाहिं खुलाएका छैनन्। के त्यो प्रोटोकल नेपालका लागि मात्र हो? होइन भने भारतका राजदूतहरुले युएई र थाइल्याण्डले दिएको सम्मान ग्रहण गरिसकेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी प्रथम भन्ने नीति लिएर सत्तारोहण गरेको भए पनि नेपाल प्रतिको यो रबैयाले छिमेकी प्रथम भन्ने नीतिलाई चुनौति दिएको प्रष्टै छ।

त्यसमाथि पनि महामारीका बेला नेपाली सेनामार्फत् नेपाली सेना, नेपाली जनता र नेपालका लागि गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्ने सामान्य प्रक्रियालाई समेत अस्वीकार गरेर नेपालप्रति कस्तो दृष्टिकोण राख्न खोजेको हो भन्ने प्रश्न उठेको छ।

यो प्रकरणपछि अव नेपाली सेनाले भारतीय सेना र भारत सरकारका प्रतिनिधिलाई भविष्यमा किन सम्झने? उनीहरुले गरेको सहयोगका लागि किन धन्यवाद ज्ञापन गर्ने? भन्ने प्रश्न पनि उठेका छन्।

भारत सरकार र भारतीय सेनाले नेपाली सेनाले दिएको सम्मान अस्वीकार गरेको यो पहिलोपल्ट भने होइन।

सन् २०१५ को महाभूकम्पपछि त्यसबेला उद्दार राहतमा योगदान गरेवापत नेपाली सेनाले भारतीय सेनाका तत्कालीन प्रधानसेनपाति विपिन रावत र सैनिक सहचारीलाई प्रशंसा पत्रले सम्मान गर्ने निर्णय गरेको थियो। नेपाली सेनाका तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीको निमन्त्रणामा सेना दिवसका विशेष अतिथि बनेर रावत नेपाल आएका पनि थिए। तर, उनी र तत्कालीन सैनिक सहचारीले पनि नेपाली सेनाको सम्मान पत्र लिन अस्वीकार गरेका थिए।

प्रचलनअनुसार, नेपाली सेनाका सेनापति भारतीय सेनाका मानार्थ सेनापति र भारतीय सेनाका सेनापति नेपाली सेनाका मानार्थ सेनापति हुन्छन्।

दुई सेनाबीचको सुमधुर सम्बन्धलाई संबोधन गर्न यस्तो व्यबस्था गरिदै आएकोमा पछिल्ला दिनहरुमा भारतले नेपाल, नेपाली र नेपाली सेनालाई विभिन्न तरिकाले होच्याउने प्रयत्न गर्दै आएको छ।

यस्ता गतिविधिले भारतले नेपालसंग आपसी विश्वासमा आधारित सुमधुर सम्बन्ध कायम राखिरहन सक्ला ? दुई मुलुकका सेनाबीच आपसी विश्वासमा कमी आउने गरी यस्ता गतिविधि गर्न भारत र त्यहांको सेनालाई के कुराले उत्प्रेरित गरेको होला ? समयक्रममा खुल्दै जानेछ।

तर, अमेरिका र चीनका राजदूत र अमेरिकाका सैनिक सहचारीले नेपाली सेनाले दिएको सम्मानलाई सहर्ष स्वीकार गर्नुले नै भारतलाई गतिलो जवाफ दिएको छैन र?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *