यथास्थितिमा पुनःस्थापित एमालेमा फर्कन सकिन्नः डा. बिजय पौडेल

डिसी नेपाल
२८ फागुन २०७७ ९:४५

काठमाडौं। तत्कालीन नेकपाका केन्द्रीय सदस्य एवं एकता अगाडिका एमाले पोलिटव्यूरो सदस्य डा. विजय पौडेलले आफू पुनःस्थापित एमालेमा नफर्किने बताएका छन्। उनले आफू दुवै पार्टी एकताको पक्षमा रहेको भन्दै एमालेमा नफर्किने बताएका हुन्।

‘म पार्टी एकताको पक्षमा लाग्छु। अब म एमालेमा फर्किने अवस्थामा छैन,’ डिसी नेपालसँग कुरा गर्दै डा.पौडेलले भने, ‘पार्टी एकता गरेपछि म फेरि विखण्डमा फर्किन्न। म एकताको पक्षमा अभियान चलाउँछु ।’

उनका अनुसार अहिले एमालेमा फर्किएर एकताको पक्षमा पहल गर्न सकिने अवस्था छैन । पौडेल भन्छन्, ‘आफूसँग काम गरेका जुनियर नेता कार्यकर्ताको उत्ताउलो अभिव्यक्तिले पनि एमालेभित्र रहेर एकताको पक्षमा अभियान चलाउन  सकिने अवस्था छैन।

‘यत्रो परिघटना हुँदा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले एउटा विज्ञप्ति सम्म निकाल्नु भएको छैन,’ उनले भने, ‘प्रधानन्त्रीको समूहमा रहेर उत्ताउलो अभिव्यक्ति दिने नेता तथा कार्यकर्ताको व्यवहारले समेत एमालेमा फर्र्किएर आत्मसम्मानका साथ काम गर्न सकिने अवस्था देखिँदैन। हामी धुम्बाहारी गयौं भने ढुंगा हान्लान जस्तो अवस्था छ।’

उनले प्रधानमन्त्री ओली समूहमा सच्चिने कुनै लक्षण नदेखिएको दाबी गर्दै साइबर सेनाको आक्रमणमा पार्न आफू एमालेमा नफर्किने निष्कर्षमा पुगेको सुनाए।

उनले एमालेमा नफर्किए पनि माओवादी केन्द्रमा पनि नलाग्ने बताए। ‘म कुनै दलमा लागेर भन्दा पनि एकताको अभियानमा लाग्छु। विचार मिल्ने सबैलाई समेटेर अभियान चलाउँछु। इमान्दारिताका साथ एकता अभियान संचालन गरेको भए बामदेव गौतमसँग पनि सहकार्य हुन्छ,’ उनले भने।

एमाले पुनःस्थापित भएपछि ओली समूहका नेता कार्यकर्ताले अर्को समूहका नेतालाई फेरि पार्टी प्रवेश गराउने र पार्टीमा स्वागत छ भन्ने जस्तो गरी अभिव्यक्ति दिएको भन्दै उनले आफू अब एमाले नहुने बताए।

सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएका छन्। पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र सक्रिय बनाएका छन् भने केपी शर्मा ओली पक्षले पूर्व एमालेलाई सक्रिय बनाएका छन्।

तर नेकपामा रहँदा समेत केपी ओलीको कार्यशैलीलाई मन नपराउने माधव नेपाल पक्षले भने पुन:स्थापित एमालेभित्र आफ्नो भूमिका कस्तो हुने भन्ने कुरा केपी ओलीको व्यवहारमा भर पर्ने बताउँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *