जसपा नेताहरुलाई बुढानिलकण्ठमा देउवाको निम्तो

डिसी नेपाल
२८ फागुन २०७७ १२:१८

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका नेतासँग छलफल गर्न देउवा निवास बुढानिलकण्ठमा बोलाएका छन्।

अपरान्ह चार बजे कांग्रेस सभापति देउवाले छलफलका लागि बोलाएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। देउवासँग पछिल्लो राजनीतिक अवस्थामा विषयमा छलफल हुने अध्यक्ष यादवले जानकारी दिए। ‘उहाँले (देउवा) ले आज चार बजे हामीलाई बुढानिलकण्ठ बोलाउनु भएको छ,’ अध्यक्ष यादवले डिसी नेपालसँग भने, ‘छलफलको विषय त्यहीँ गएपछि थाहा हुन्छ। तर मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुन्छ होला।’

देउवासँगको छलफलमा जसपाका शीर्ष नेता सहभागी हुँदैछन्। सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादीलाई पूवर्तवत अवस्थामा फर्काइदिएपछि मधेस केन्द्रित दललाई सबैले आफ्नो पक्षमा पार्ने कोशिश गरिरहेका छन्।

जसपा नेताहरुसँग माओवादी केन्द्रका अध्यक्षले यसअघि नै छलफल गरिसकेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको प्रस्ताव नै गरेका छन्। सरकार र जसपाबीच छलफल गर्न कार्यदलसमेत गठन गरिएको छ। कार्यदलबीच आज पनि छलफल हुँदैछ।

देउवालाई भेट्न जानु अघि जसपाको बैठक बस्दैछ। देउवासँगको भेटमा छलफल गर्ने एजेण्डाका विषयमा बैठकमा छलफल हुने जसपा नेताहरुले बताएका छन्। उता सभापति देउवाले पनि जसपा नेताहरुसँग परामर्श गर्नुअघि पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको देउवा निकट स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *