‘न्यायिक मनले मात्रै न्याय सम्पादन गर्न सक्छ’
बलेवा। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले निर्वाचित जनप्रतिनिधिले न्याय सम्पादन गर्दा न्यायिक मन प्रयोग गर्नुपर्ने बताएका छन्। नेपालको संविधानले निर्वाचित जनप्रतिनिधिले समेत निश्चित मुद्दाहरूमा फैसला गर्नसक्ने व्यवस्था गरेकाले मिसिल र प्रमाणहरूको आधार लिएर जनप्रतिनिधिले न्यायको सम्पादन गर्नुपर्ने उनले बताए।
सङ्घीयताको कार्यान्वयनसँगै न्याय सम्पादनको अधिकार स्थानीय तहमा गठन भएका न्यायिक समितितर्फ सङ्केत गर्दै फुयाँलले कुनै पनि आस्था र विचारको आधारमा नभई प्रमाण र मिसिल तथा न्याय दिने व्यक्तिको मनलाई नै न्यायिक बनाए मात्रै न्याय सम्पादन विश्वासिलो हुने बताए।
बागलुङमा शुक्रबारबाट शुरु भएको कानून व्यवसायी दक्षता अभिवृद्धि तालीमको उद्घाटन गर्दै फुयाँलले हरेक मानिसको विश्वास न्यायलयमा रहेको भन्दै विश्वासिलो न्याय सम्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए। “कहिलेकाहीँ देवानी मुद्दाहरूमा सतप्रतिशत न्याय सम्पादन हुन्छ भन्ने हुँदैन्, त्यतिबेला हेर्ने भनेको पेस भएका प्रमाणहरू हो”, उनले भने, “प्रमाणहरुको तौल हेरेर, हाम्रा कानूनमा भएका व्यवस्थाभन्दा बाहिर नगई न्याय सम्पादन गर्नुपर्छ।”
“कहिलेकाहीँ मनले मानिराखेको हुँदैन तर प्रमाण नपुगेकाले दोषी छुटिरहेको हुन्छ” उनले भने, “कहिले कानूनअनुसार प्रमाण बनेका कारण निर्दोष हो कि जस्तो लाग्नेहरुले पनि कारबाही भोग्नु पर्छ।” अदालत जनताको चित्त बुझाउने ठाउँ भएकाले जनताको विश्वास कायम राख्नेगरी काम गर्नुपर्नेमा उनको जोड थियो।
कार्यक्रममा उच्च अदालत पोखरा, बागलुङ इजलासका कायम मुकायम मुख्य न्यायाधीश शालिग्राम कोइरालाले न्याय क्षेत्र पुण्य कमाउने क्षेत्र भएकाले सन्तुलित न्याय सम्पादनमा ध्यान दिनुपर्ने बताए। “सन्तुलित न्याय सम्पादन नहुँदा कहिलेकाहीँ दुर्घटना हुन्छन्”, उनले भने, “कानूनसम्मत न्याय सम्पादन र मर्यादित पेशामा सबैले ध्यान दिन जरुरी छ।”
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले जनविश्वासअनुसारको न्याय सम्पादनमा न्यायलय र कानून व्यवसायीको भूमिका उत्तिकै हुने बताए। मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले बागलुङमा आयोजना गरेको कानून व्यवसायी दक्षता अभिवृद्धि तालीम शनिबारसम्म चल्ने छ। तालीममा बागलुङ, पर्वत र म्याग्दीका कानून व्यवसायीहरूको सहभागिता छ । तालीममा न्यायाधीश फुयाँल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधारी शर्मा, वरिष्ठ अधिवक्ता नारायण घिमिरेलगायतले प्रशिक्षण दिनेछन्। रासस
Facebook Comment