प्रधानमन्त्रीले गरे प्रतिपक्षमा बस्ने संकेत, भन्छन् ‘सत्ताको लागि मरिहत्ते गर्दैनौँ’

डिसी नेपाल
२९ फागुन २०७७ १६:३७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राजनीतिक प्राणी भएकोले सत्ताको पछि लागेर मरि हत्ते नगर्ने बताएका छन्। शनिबार नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय महिला संघले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू राजनीतिक प्राणी भएको र अरु जस्तो सत्ताका लागि मरिहत्ते नगर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले सरकारमा भए देश बनाउने र प्रतिपक्षमा भए देश बनाउने तयारी गर्ने बताए। सरकार वा प्रतिपक्ष जहाँबाट भएपनि देश विकासमा केन्द्रित हुने उनको भनाइ छ। उनले यदि आफू नेतृत्वको सरकार नरहे अब हुने चुनावबाट फेरि दुई तिहाइ बहुमत ल्याएर फेरि सिंहदरबार पस्ने बताए।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कसैले बुनेका तानावानाले आफूलाई कुनै फरक नपर्ने बताए। आफ्ना विरोधिहरुतर्फ संकेत गर्दै उनले माकुराको जालोमा भैसी नपर्ने बताए। उनले भने ‘हामी धेरै सजिला अप्ठेराहरु झेलेर आएका छौं। जेलनेल, लडाइँ–झगडा खेपेर त्यसविरुद्ध लडेर आएका छौं। त्यसकारण म भन्ने गर्छु माकुराले थापेको जालोमा भैंसी पर्दैन। अहिले पनि माकुराहरूले थुुप्रै जालो थापे। जालो कहाँ थियो, उसैले थाहै पाउँदैन।’

यस्तै प्रधानमन्त्री ओलीले आगामी चुनावमा सबै दललाई जनताले धुलो चटाउने बताएका छन्। अहिले जनतालाई विकास र समृद्धि चाहिएको बताउँदै उनले अहिलेका दल र नेताको प्राथामिकता त्यो कुरा नभएकोले अबको चुनावमा जनताले धुलो चटाउने बताए। उनले आफू नेतृत्वको सरकारलाई हटाउन चुनौति समेत दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *