‘बाल बलात्कार र सजाय’ विषयक विचार प्रतियोगिता
काठमाडौं । फ्रेस इन्टरनेशनलले १३ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरु सहभागी हुनेगरि ‘बाल बलात्कार र सजाय’ विषयक विचार प्रतियोगिता सम्पन्न गरेको छ ।
भिडियोमार्फत् आफ्ना विचार एक मिनेट भित्र बोलेर पठाउनुपर्ने यस प्रतियोगितामा देशभरबाट १ सय २२ जनाले भाग लिएका थिए । भाग लिएकाहरुमध्ये १२ उत्कृष्ट भिडियोहरुलाई पब्लिक च्वाइसका लागि सामाजिक सञ्जालमा राखिएको र एउटा भिडियोलाई निर्णायक समूहले नै उत्कृष्ट छनौट गरेको थियो ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा गरिमा श्रेष्ठले सबैभन्दा बढी भोट ल्याएर पब्लिक च्वाइस पुरस्कार प्राप्त गरिन् भने समीक्षा न्यौपानेले निर्णायकतर्फको पुरस्कार प्राप्त गरेकी थिइन् ।
उक्त दुवै पुरस्कारकासाथ नगद राशी २५ हजार पनि प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अथिति त्रिवि कानून संकायका डीन डा. विजयसिंह सिजापतिले सम्बोधन गर्दै सोचमा नै परिवर्तन ल्याउनु पर्नेमा जोड दिएका थिए ।
संस्थाकी अध्यक्ष शान्ति रिसाल काफ्लेले देशको वर्तमान अवस्थालाई तथ्याँकका माध्यमबाट जानकारी गराएकी थिइन् । संस्थाका सदस्य राजेन्द्र शलभले आफूहरुले विभिन्न स्कूलहरुमा पत्राचार गरेकोमा एउटै स्कूलले यसप्रति चासो नदेखाएकोमा दुख व्यक्त गरे । सामाजिक सञ्जालमार्फत् यतिका बालबालिकाको सहभागिता हुनु सुखद पक्ष भएको उनले बताए ।
Facebook Comment