माडीमा राम मन्दिर बनाउने सरकारको चासो

डिसी नेपाल
२ चैत २०७७ २१:४१

भरतपुर । चितवनको माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउनेबारे वाग्मती प्रदेश सरकारले चासो लिएको छ ।

यस विषयमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित, पुरातत्व विभाग र पर्यटन मन्त्रालयका उच्च अधिकारीको बीचमा बृहत छलफल भएको छ ।

छलफलका क्रममा राम मन्दिरको वास्तुकलाको बारेमा प्रस्तुति पनि भएको छ । प्रदेश सरकार र सङ्घीय सरकारले संयुक्त रुपमा राममन्दिर निर्माण गर्ने र अन्य अध्ययन पनि सँगैसँगै अगाडि बढाउने तयारी गरेका छन । जतिसक्दो चाँडो टेन्डर गरेर राम मन्दिर निर्माण गर्ने र सँगसँगै धाम बनाउने विषयमा आवश्यक अनुसन्धानलाई पनि अगाडि बढाउने निर्णय भएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । राम मन्दिरसहित माडीलाई धार्मिक केन्द्र बनाउन बनाइने मास्टर प्लानको बारेमा मन्त्रालयका अधिकारी र मुख्यमन्त्री स्थलगत अध्ययनमा पनि जाने उनले बताए ।

“धार्मिक र आर्थिक विकास गरेर पर्यटकीय आकर्षण बढाउन वाल्मीकी आश्रमदेखि जनकपुरसम्म अध्ययन गर्नुपर्ने देखिएको छ”, उनले भने’ “अयोध्याको अध्ययन र मन्दिर निर्माण सँगसँगै अगाडि बढाउने तयारी छ ।”

माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान् राम र सीताको मूर्ति तयार भएको छ । मूर्ति प्रधानमन्त्रीको सचिवालय बालुवाटार परिसरमा राखिएको छ । प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार भएको बताइएको छ । आगामी वर्षको रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गरिने योजना बनाइएको छ ।

प्रधानमन्त्री ओलीले गत माघ १७ गते भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अयोध्यापुरीमा अयोध्याधाम निर्माण गर्न बृहत गुरुयोजना बनिसकेको र राम सीताको मूर्ति तयार भइसकेको बताएका थिए । माडी नगरपालिकाले कृष्णनगर पार्कमा राख्ने गरी १०० बिघा जग्गासहित अयोध्याधाम बनाउन सिफारिस गरेको छ । गएको असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमै भएको दाबी गरेपछि चितवनको माडी नगरपालिकाको चर्चा चुलिएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *