नेपाली कूटनीतिका ‘भीष्मपितामह’
‘यदुनाथ खनाल, विद्वान कूटनीतिज्ञ समालोचक’ प्राध्यापक जयराज आचार्यले खनालको जीवनी र विद्वतामा आधारित रहेर तयार पार्नुभएको पुस्तक हो। पैरवी प्रकाशनमार्फत् नेपाली पाठकमाझ उपलब्ध यस पुस्तकमा स्वर्गीय खनालको राजनीतिक, कूटनीतिक, प्राध्यापन क्षेत्रका साथै समालोचनाका क्षेत्रका बहुमुखी प्रतिभाका केही प्रेरणादायी दृष्टान्त एवं प्रसंगहरु उल्लेख छन्।
खनाल नेपाली कूटनीतिका क्षेत्रमा मात्र नरही बहुमुखी व्यक्तित्व हुनुहुन्थ्यो भन्ने विशिष्ट पक्षको झलक यो ४०२ पृष्ठको पुस्तकले दिन खोजेको छ, यद्यापि खनालको व्यक्तित्व, प्रतिभा र क्षमता एउटै पुस्तकमा सीमित गर्ने काम भने बडो कठिन भएकोले त्यो यहाँ छैन पनि।
प्रोफेसर खनालको शैक्षिक क्षेत्रमा रहेको अनुभव, नेपाली साहित्यका क्षेत्रमा उहाँको योगदान र कूटनीतिक मोर्चामा उभिएको मात्र नभएर नेपाली राष्ट्रियताको पक्षमा उहाँका सत्कर्मको पनि यस प्रकाशनमार्फत् एउटा झलक भने आएको छ।
“जापान जानुअघि म वरिष्ठ कूटनीतिज्ञ यदुनाथ खनाललाई भेट्न गएँ। उहाँले मलाई भन्नुभएको थियो, ‘अब तपाईंका तीनवटा मालिक भएका छन्। पहिलो, जुन सरकारले तपाईंलाई पठायो त्यो भैहाल्यो। दोस्रो, जुन सरकारले तपाईंलाई आतिथ्य दिन्छ, त्यो पनि तपाईंको मालिक हो र तेस्रो मालिक नेपाली जनता हुन्। अझ सबैभन्दा ठूलो मालिक त नेपाली जनता नै हुन्। कुनै निर्णय लिनुभन्दा पहिले यसबाट नेपाली जनतालाई के असर पर्छ भन्ने कुरामा ध्यान दिनुहोला। खनालको यो भनाइ मेरा लागि प्राण–वाक्य नै भयो। म कुनै कुरा सरकारको स्वार्थमा छ तर जनताको स्वार्थमा छैन भने त्यो काम गर्दै नगर्ने अटेरी र अप्ठ्यारो खालको राजदूत थिएँ।”
नेकपाका नेता विष्णु रिजालले सम्पादन गरेको नेपालको कूटनीतिक अभ्यास, राजदूतहरुको अनुभव पुस्तकमा जापानका लागि नेपाली पूर्व राजदूत केदारभक्त माथेमाले यसो भन्नुभएको छ। विश्वविद्यालयका प्राध्यापक उहाँ राजदूत भएपछि आफूले रोल मोडल मानेको कूटनीतिज्ञकहाँ मार्ग निर्देशनका लागि पुग्नुभएको थियो र खनालका यी सुझावहरुलाई उहाँले आफ्नो कार्यकालभरि उहाँकै शब्दमा ‘प्राण–वाक्य’ कै रुपमा अनुशरण गरेको बताउनुहुन्छ।
तत्कालीन राजा वीरेन्द्र युवराज हुदादेखि नै खनाललाई आदर गर्ने गर्नुहुन्थ्यो र उहाँका लेखहरु निरन्तर पढ्ने गर्नुहुन्थ्यो रे। त्यतिमात्र होइन राजा वीरेन्द्रले कुनै लेखमा व्याख्या आवश्यक ठानेमा उहाँसँग बोलाएर यो लेखमा किन त्यसो भनेको भनी प्रश्न पनि सोध्नुहुन्थ्यो रे। राजा वीरेन्द्रलाई त्यस सयममै पनि विकासवादी राजाका रुपमा प्रचार गरिन्थ्यो।
त्यस पुस्तकमा नेपालका नाम चलेका २० जना राजदूतका अनुभव समेटिएका छन् र तीमध्ये अधिकांशले कूटनीतिक कौशलको उदाहरण दिनुपर्दा यदुनाथ खनालको नाम अघि सारेका छन्। यसबाट नेपालको कूटनीतिक क्षेत्रमा रहेको यदुनाथ खनालको विज्ञताको पहिचान र प्रसार भएको देखिन्छ। अनि यो एउटा दृष्टान्तले अहिले विश्वमा रहेका नेपालका राजदूतहरुलाई उनीहरुले कुनै निर्णय लिनुभन्दा पहिले यसबाट नेपाली जनतालाई के असर पर्छ भन्ने कुरामा ध्यान दिन सकेका छन् कि छैनन् भनेर सोच्न सजिलो पनि बनाएको छ।
“वाशिङ्टनमा राजदूत भएर जानुभन्दा पहिले नै खनालले अमेरिकाको भ्रमण दुईचोटि गर्नुभएको थियो। पहिलो भ्रमण सन् १९५६ मा भयो– विश्वविद्यालय प्रशासन अध्ययन गर्ने टोलीमा सामेल भएर। त्यसबेला अमेरिकामा अश्वेत (काला जाति) प्रतिको भेदभाव हटिसकेको थिएन। रेलमा यात्रा गर्दा र अन्य कतिपय ठाउँमा अश्वेतहरूप्रतिको भेदभाव देख्दा हामी विस्मयमा परेका थियौं भन्ने खनालको भनाइ थियो।
पछि, सन् १९७०–७१ मा हार्वर्ड विश्वविद्यालयको फेलो हुँदाको एकवर्ष भने परराष्ट्र मामिला विषयमा शोधपत्र लेख्दैमा बित्यो। त्यसताका पूर्वी पाकिस्तानमा चर्केको आन्दोलन भारतको सहयोगबाट सफल भएर बंगलादेश बनेरै छोड्ने उहाँको विश्लेषण थियो। त्यो सत्य साबित भएको देखेपछि कतिपय अमेरिकी विद्वान् उहाँको क्षमताबाट प्रभावित भएका थिए। र, न्यूयोर्क टाइम्समा स्तम्भ–लेखक हुने प्रस्ताव पनि आएको थियो। तर खनाल त्यसतर्फ लहसिनु भएन।”
यस पुस्तकको समीक्षा गरेर विसं २०७७ फाल्गुण ८ गते गोरखापत्रमा लेख्नुभएको ‘विद्वान सर्वत्र पूज्यते’ शीर्षकको आलेखमा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले माथिको प्रसंग उल्लेख लेख्नुभएको छ। उहाँले संक्षेपीकरण गर्नुभएका यी एकाध हरफहरुले पनि विद्वान यदुनाथ खनालका बारेमा धेरै सूचना दिएका छन्।
उहाँ राजदूत हुनुअगावै पनि दुई पटक अमेरिका किन जानुभएको र हार्वर्ड जस्तो विश्व चर्चित विश्वविद्यालयको फेलो भएको र त्यसमा पनि उहाँले परराष्ट्र मामिलाका विषयमा शोधपत्र लेखेको कुरा पनि त्यसमा उल्लेख छ। त्यस समय यो अवसर प्राप्त गर्ने र हार्वर्ड विश्वविद्यालयमा र त्यो पनि परराष्ट्र मामिलामा शोधपत्र गर्न सक्ने क्षमता भएका मानिस यस देशमा कति थिए होलान् भन्ने बारेमा घोत्लिँदा पनि विद्वान यदुनाथ खनालको ओझ अझै बढ्दछ।
अनि अर्काे कुरा बंगाली भाषी राज्यको मूल मागका साथ पाकिस्तानबाट बंगाली समुदायका नागरिकले गरेको स्वतन्त्रताको आन्दोलनले पाकिस्तान टुक्र्याउँछ भनी उहाँले गर्नुभएको आँकलन अनुरुपकै परिणामले अमेरिकीहरुलाई पनि प्रभावित पारेको प्रसंग त्यहाँ छ।
अमेरिकीहरु उहाँको यस विद्वताको स्थान आफ्नो अखबार न्यूयोर्क टाइम्समा स्तम्भ–लेखकका रुपमा दिन चाहेको प्रसंगले उहाँको राजनीतिक र कूटनीतिक क्षमता उजिल्याउँन थप सघाउँदछ। अहिले हेर्दा बग्रेल्ती पत्रिका र विचार लेल्न मिल्ने विविध माध्यमहरु रहेकाले कुनै अखबारको स्तम्भ लेखनको जिम्मेवारी पाउने कुरा सामान्य लाग्न सक्छ। तर, त्यस समय त्यस्तो पक्कै थिएन होला र त्यो पनि न्यूयोर्क टाइम्सजस्तो अखबारमा एकजना नेपालीले पाउने यो अवसर महत्वपूर्ण नै थियो होला भन्ने अनुमान गर्न सकिन्छ।
पुस्तकका लेखक प्राध्यापक जयराज आचार्यले पुस्तकको भूमिकामा यदुनाथ खनाललाई ‘कूटनीतिमा कौटिल्य र किसिञ्जर दुवै बुझ्ने’ व्यक्तित्व भनेर उल्लेख गर्नुभएको छ। उहाँका यी शब्दहरुले के बुझाउँछ भने कूटनीतिमा किसिञ्जर बुझ्ने व्यक्तित्व नेपालमा कमै छन् किनभने त्यो व्यक्तित्वलाई बुझ्ने क्षमता खानालमा छ भनेर त्यस रूपमा खनाललाई चिनाइएको छ।
पुस्तकको भूमिकामा उहाँ लेख्नुहुन्छ– यस पुस्तकको समीक्षा गर्दा एक समीक्षकले यस्तो लेखे ‘पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे, भानुभक्त आचार्यले नेपाली भाषाको स्तरीकरण गरे, यदुनाथ खनालले नेपालको परराष्ट्र नीतिको बौद्धिकीकरण गरे’।
अनि कतिले खनाललाई नेपाली कूटनीतिका “भीष्मपितामह” पनि भने। उनको बौद्धिक कूटनीतिक र साहित्यिक समालोचकीय योगदानलाई सम्मान गर्दै नेपाल सरकारले २०७६ सालमा उनको तस्विर अंकित हुलाक टिकट पनि प्रकाशन गरेको छ।
तत्कालीन राजा वीरेन्द्र युवराज हुदादेखि नै खनाललाई आदर गर्ने गर्नुहुन्थ्यो र उहाँका लेखहरु निरन्तर पढ्ने गर्नुहुन्थ्यो रे। त्यतिमात्र होइन राजा वीरेन्द्रले कुनै लेखमा व्याख्या आवश्यक ठानेमा उहाँसँग बोलाएर यो लेखमा किन त्यसो भनेको भनी प्रश्न पनि सोध्नुहुन्थ्यो रे। राजा वीरेन्द्रलाई त्यस सयममै पनि विकासवादी राजाका रुपमा प्रचार गरिन्थ्यो।
उता खनालले भने विकास विना देशको परराष्ट्र नीति सफल नहुने विश्लेषण गर्नुहुन्थ्यो। उहाँले गृहनीति साध्य हो र परराष्ट्र नीति सधान हो भन्नुहुन्थ्यो। हाम्रो राष्ट्रिय विकास साध्य हो र परराष्ट्र नीति त्यसलाई हासिल गर्ने साधन मात्र हो। आर्थिक सामाजिक विकास विना आफ्नो स्वाधीनता, सार्वभौमसत्ता र प्रादेशिक अखण्डता जोगाउन नेपालको कूटनीति मात्र सफल हुँदैन। भन्ने उहाँको मान्यता थियो। त्यसैले पनि देशको विकासका लागि राजालाई कन्भिन्स गर्नुपर्छ भन्ने मनसाय खनालको थियो र उहाँले विविध समयमा त्यसको प्रयास गरेका प्रसंगहरु पनि पुस्तकमा छन्।
खनाल दुई पल्टसम्म नेपालको परराष्ट्र सचिव हुनुभयो भने नेपालको परराष्ट्र सम्बन्धमा खास महत्व राख्ने भारत, चीन र अमेरिकाजस्ता देशको राजदूत बन्नुभएको थियो। राजदूत र विदेश सचिव त धेरै हुन्छन् तर उहाँजस्ता प्राध्यापक र नेपाली मात्र नभएर अंग्रेजी र संस्कृत भाषाका समेत विद्वान खनालजस्तो व्यक्ति पाउन भने दुर्लभ छ।
उहाँ राजदूत या परराष्ट्र सचिव मात्र नभएर प्रकाण्ड विद्वान, कूटनीतिज्ञ र समालोचक हुनुहुन्थ्यो। उहाँ राजा महेन्द्र र वीरेन्द्र, प्रधानमन्त्रीहरु टंकप्रसाद आचार्य, विपी कोइराला, कृष्णप्रसाद भट्टराई तथा गिरिजाप्रसाद कोइरालासँग समेत सल्लाहकार एवं विशिष्ट पदमा रहेर काम गर्नुभएको छ। सक्रिय पञ्चायती व्यवस्थाका समयमा कार्यकारी राजा तथा बहुदलीय व्यवस्थाका प्रधानमन्त्रीहरु विपीदेखि गिरिजा कोइरालासम्म काम गर्न पाएका नेपाली कूटनीतिज्ञ सायद उहाँमात्र हुनुहुन्थ्यो होला।
प्राध्यापन क्षेत्रका मात्र नभएर लोक सेवा आयोगका अध्यक्ष खनाल नेपालको प्रशासनिक क्षेत्रको पनि ज्ञान राख्नुहुन्थ्यो भन्ने प्रमाण त उहाँ लोक सेवा आयोगको अध्यक्ष भएबाट पनि पाउन सकिन्छ।
उहाँ भन्ने गर्नुहुन्थ्यो देशको आन्तरिक विकास नै सफल परराष्ट्र नीति या कूटनीतिको पूर्वसर्त हो। यसको अर्थ हो कि देशको आर्थिक र सामाजिक विकास नगर्दा सम्म त्यस देशको परराष्ट्र नीति सफल भएको मान्न सकिँदैन। उहाँको यो विचार अहिले पनि मननीय छ। जस्तो कि संसारको भौगोलिक मानचित्रमा सिंगापुर, दक्षिण कोरियाजस्ता देशको नाम धेरैलाई चर्चित लाग्छ।
तर ती देश हाम्रो नेपालभन्दा धेरै साना छन्। देश सानो र ठूलो भन्ने कुरा भौगोलिक क्षेत्रफलले भन्दा पनि आर्थिक विषयले गर्दाेरहेछ भन्ने कुरा नेपालभन्दा साना रहेका ती देशहरुबाट थाहा हुन्छ। यसै विषयमा लेखक प्रा.आचार्यले पुस्तकको भूमिकामा लेख्नुहुन्छ “देश पछाडि परिरहेकै छ। नेपाल प्रतिव्यक्ति औषत आयका दृष्टिले अल्पविकसित र सार्क क्षेत्रमा पनि सबैभन्दा तल छ। गाउँघर रित्ता छन्।
खेतीयोग्य जमिन बाँझो छ। व्यापार घाटा बढेर देशको बजेट बराबर जस्तो हुन गएको छ। चालिस पचास लाख युवाहरु विदेशिएका छन्। रेमिटेन्स नआएर देश चल्दैन। यस अवस्थामा परराष्ट्र नीति र कूटनीति कसरी सफल र प्रभावकारी हुन्छ? यो देशको यस्तो भविष्य यदुनाथ खनालले धेरै अघि (विसं २०२८) नै देखेका रहेछन्।”
Facebook Comment