माओवादीले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेन

डिसी नेपाल
३ चैत २०७७ १५:०९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई पदबाट हटाउने निर्णय भने गरेन । आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेन ।

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले र नेकपा माओवादीको संयुक्त सरकारका प्रधानमन्त्री हुन् । एमालेको संसदीय दलका नेता ओली माओवादीले समेत समर्थन गरेपछि बहुमत सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । यदि माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिएमा उनी अल्पमतमा पर्छन र उनले संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । संसदमा विश्वासको मत लिन नसके ओली प्रधानमन्त्री कायम रहन पाउँदैनन् ।

माओवादी केन्द्रले भने समर्थन फिर्ता लिएर ओलीलाई पदबाट हटाउने निर्णय गरेन । बरु प्रधानमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेको छ । आग्रह बाध्यात्मक हुँदैन त्यसैले प्रधानमन्त्रीले यो आग्रह मान्नैपर्छ भन्ने छैन । उनले यो आग्रह नमानेर राजीनामा नदिए पनि केही फरक पर्ने छैन ।

बैठकले पार्टीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निरन्तरता दिने निर्णय गरेको छ । बैठकले नेकपा एमालेसँग एकता हुनुअघिका पदाधिकारीलाई नै निरन्तरता दिने निर्णय गरेको छ जसअनुसार दलको प्रमुख सचेतक पनि देव गुरुङ नै रहनेछन् भने राष्ट्रिय सभामा दलको नेताको प्रतिनिधिका रूपमा दिनानाथ शर्मा नै कायम रहनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *