वार कि पारको अवस्थामा एमालेको विवाद

डिसी नेपाल
३ चैत २०७७ २१:४४

काठमाडौं। सर्वोच्च अदालतले तत्कालिन नेकपालाई खारेज गर्नुअघि पनि सत्तारुढ दलसमेत रहेको नेकपा विभाजनको अवस्थामा थियो। सर्वोच्चले नेकपालाई खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि तत्कालिन नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरेको समूह एमालेमा पुनर्मिलन नहुँदै टाढिने दिशामा अग्रसर भएको छ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको अगुवाईमा रहेको यो समूह र अध्यक्ष तथा प्रधानमन्त्री ओलीको समूहबीचको नेकपाकालिन विवाद समाधान नभई झन बढेको छ। २८ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली निकट केन्द्रीय सदस्यहरुको भेलाले माधव समूहमा रहेका नेताहरुको जिम्मेवारी खोस्ने र विधान नै संशोधन गर्ने निर्णय गरेपछि त्यसलाई सहजरुपमा नलिएको माधव समूहले बुधबार र बिहीबार काठमाडौंमा राष्ट्रिय भेला गर्दैछ।

राष्ट्रिय भेलाको अघिल्लो दिन मंगलबार भएका राजनीतिक घटनाक्रम र नेताहरुको भनाइलाई आधार मान्ने हो भने बुधबार र बिहीबारको भेला एमालेलाई वार कि पारको अवस्थामा पुर्याउने देखिएको छ।

प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा आयोजना गरेको चियापन कार्यक्रममा माधव समूह सहभागी भएन। सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गुटगत भेलामा नलाग्न चेतावनी दिए।

त्यसको केही समयपछि माधव समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा सो समूहका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले आफूहरु कारबाही भोग्न तयार रहेको बताए।

मंगलबार साँझ एमाले महासचिब ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै गुटगत भेलामा सहभागी हुनेलाई पार्टी र संसदीय दलको विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका छन्।

दुबै पक्षको भनाइलाई आधार मान्ने हो भने बुधबारको भेलामा सहभागी हुने नेता तथा कार्यकर्ताहरु कारबाही भोग्न तयार भएरै सहभागी हुँदैछन्। र महासचिब पोखरेलको विज्ञप्तिलाई हेर्दा ओली समूह भेलामा सहभागी भएकाहरुलाई कारबाही गर्ने तयारीमा रहेको बुझ्न सकिन्छ।

यदि ओली समूहले माधव समूहलाई कारबाही गर्यो भने सो समूहमा रहेका नेताहरुको पार्टीको पदमात्र नभएर सांसद पद पनि जानेछ। सो समूहसँग संसदीय दलमा दल विभाजनका लागि आवश्यक ४० प्रतिशत संख्या नरहेको हालसम्मको अनुमान छ। यदि दल विभाजन गर्न नपाए सो माधवकुमार नेपालले सांसद पदमात्र त्याग्नुपर्ने छैन, आफूले करिब १५ वर्ष नेतृत्व गरेको एमाले पार्टी पनि त्याग्नुपर्ने अवस्था आउन सक्छ।

माधव समूहले राष्ट्रिय भेलाले दिने सुझावका आधारमा रणनीति बनाउने बताउँदै आएको छ। यदि सो भेलाले ओलीसँग कुनै पनि हालतमा मिलेर जान सुझाव दियो भने एमालेको विभाजन रोकिन सक्छ। वा ओली उनीहरुमाथि कारबाही नगरी नरमरुपमा प्रस्तुत भए पनि एमालेको विभाजन रोकिन सक्छ। तर, हालसम्मको अवस्था भने त्यस्तो देखिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *