पदमार्ग सरसफाइमा जुटे व्यवसायी

डिसी नेपाल
३ चैत २०७७ २२:३१

गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन (टेसा) पोखराको आयोजनामा मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक पदयात्रामा सहभागी पोखरेली पर्यटन व्यवसायीहरूले आज ‘मर्दी पदयात्रा क्षेत्र’ सरसफाइ गरेका छन् ।

चैत १ गतेदेखि चार दिने पदयात्रामा निस्केको टोलीले मंगलबार पदयात्रा मार्गको मर्दी हाइक्याम्पदेखि बादलडाँडासम्म सरसफाइ गरेको हो । पछिल्ला वर्षमा आकर्षक गन्तव्यका रुपमा परिचित मर्दी पदयात्रा मार्गको मर्दी हाइक्याम्पदेखि बादलडाँडासम्मको क्षेत्रमा फालिएका प्लाष्टिकजन्य सामग्री सङ्कलन गरिएको टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले जानकारी दिए ।

मार्गमा जथाभावी फलिएका सामग्रीले वातावरणीय प्रदूषण निम्त्याउने भएकाले यसको समयमा नै व्यवस्थापन गर्नुपर्ने टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका उपाध्यक्ष धर्मराज पन्थीले बताए । पदयात्रा पर्यटनमा प्रयोग गरिने सामग्रीको बिक्री वितरणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ पोखरामा २०५४ सालदेखि संस्थागतरुपमा नै टेसा क्रियाशील रहेको निवर्तमान अध्यक्ष एवं चिनारी पदयात्रा कार्यक्रम संयोजक रामचन्द्र गिरीले जानकारी दिए । उनका अनुसार पदयात्रा पर्यटनको प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदान गर्दै आएको टेसामा हाल विभिन्न ७५ व्यवसायी आबद्ध छन् । चिनारी पदयात्रा कार्यक्रम बुधबारसम्म चल्ने उनले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *