माधव नेपालले कार्यकर्ताहरुलाई भने – ‘हामी पनि पीडित, तपाइँहरु पनि पीडित’

डिसी नेपाल
४ चैत २०७७ १४:१४

काठमाडौं। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले कार्यकताृहरुलाई सम्बोधन गर्दै नेताहरु र कार्यकर्ताहरु दुवै अध्यक्ष केपी ओलीबाट पीडित भएको बताएका छन् । ओलीलाई अध्यक्ष बनाउनु नै गल्ती भएको बताउँदै पूर्व प्रधानमन्त्री नेपालले ओलीले पार्टीको नेतृत्व गर्दै कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको र ओली प्रवृत्तिबाट पार्टीका नेता कार्यकर्ता पीडित भएको आरोप लगाए ।

आफ्नो समूहका कार्यकर्ताहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने ‘हामी अहिलेसम्म त्याग र तपस्याका साथ अगाडि बढिरहेका छौँ । यो संकटबाट डराउदैनौ, हामी यसको सामना गर्छौ । कम्युनिष्ट पार्टी भनेको विचार हो, सिद्धान्त हो । विचार नहुने कम्युनिष्ट हुन सक्दैन, ओलीको विचार छैन ।’

उनले अहिले कम्युनिष्ट आन्दोलन कमजोर भएको र यसको प्रमुख कारण केपी ओली भएको दावी गरे । नेपालले भने ‘ओलीले पार्टी बिगारेको प्रमाण एक थान छ । ओलीले हाम्रो आजको भेला असफल पार्न भ्रामक समाचारहरु सम्प्रेषण गर्न साईवर ‘स्याल’ प्रयोग गरेका थिए तर सफल हुन सकेनन् ।’

अब कुनै अलमल र भ्रममा नपर्न भन्दै नेपालले भने ‘यो पदको लडाइँ होइन । यो सिद्धान्त र विधिको लडाइँ हो । एमालेले ओलीलाई अध्यक्ष बनाउनु नै दुर्भाग्य भएको थियो । पार्टी निरङ्कुश बनाउनु ओलीको ठूलो हात छ । बैठक बोलाउन कहिल्यै नसक्ने ओलीले एमाले र कम्युनिष्ट आन्दोलन कमजोर बनाए ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *