नयाँ प्रधानमन्त्रीको टुँगो नलाग्दासम्म माओवादी केन्द्रले समर्थन फिर्ता लिँदैन: नेता शर्मा

डिसी नेपाल
४ चैत २०७७ १९:१०

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेद्धवार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गरे । उनले भने,‘समस्याको समाधान हामीले समर्थन फिर्ता लिएर मात्रै हुँदैन् । प्रधानमन्त्री हुन को तयार छ ? नभए ओलीजी नै हुनुहुन्छ । अरु दलहरुले हिम्मत गर्नुपर्यो । प्रमुख प्रतिपक्षी दल वेटिंग ईन गभर्मेन्ट हो । सत्ता पक्षले राज्य सञ्चालन गर्न सकेन भने, प्रतिपक्षी हिम्मत गरेर आउनुपर्यो नि । हामी त नेकपा सरकारमै थियौं ।’ तर, आफूहरु अहिले सरकारमा नभएको उनको भनाई छ ।

माओवादी केन्द्रका साथीहरु एमालेमै समाहित भएको पनि उनले सुनाए । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भोलि फेरि एकता पनि हुनसक्ने उनले सम्भावना सुनाए । सरकारमा सहभागी भएका माओवादी केन्द्रका साथीहरुलाई आफूहरुले पार्टीमा फर्कन अनुरोध गरेको सुनाए । उनले नेकपा एमाले नफुटोस भन्ने आफूहरुको चाहना रहेको सुनाए । उनले भने,‘आन्दोलन नफुटाऔं । कांग्रेस पनि एक ढिक्का हुनुपर्छ । माओवादीलाई त्यस्तो समस्या छैन् । एमालेभित्र देखिएको समस्या निषेध गर्नुहुन्न क्या ।’ सरकारको नेतृत्व गर्नेगरि कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएर नआए आफूहरुले के गर्ने ? भन्नेबारे अहिले छलफल गरिरहेको स्पष्ट पारे ।

उनले पार्टीको नाम परिवर्तनबारे बैठकमा छलफल भएपनि त्यो एजेण्डा नभएको सुनाए । उनले अहिले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुरामा कुनै दाबी नगरेको पनि जिकिर गरे । कांग्रेस र जसपाले सहमति गरेर आउँदा आफूहरुको समर्थन हुने उनको भनाई छ ।

नेता शर्माले देशको राजनीतकि परिस्थिति अलि अलि गम्भीर नै रहेको सुनाए । उनले भने,‘नेकपाभित्र उत्पन्न विवादका कारणले राष्ट्रिय राजनीतिमा समस्या देखापरेको छ । अहिले हामी अलग अलग भयौं । हामीले लामो प्रयत्न गरेर एकता गरेका थियौं । अन्तरविरोधहरुलाई हल गर्ने कुरा जिम्मेवार नेताको काम हो । नेकपाभित्रका नेता पार्टीभित्रको अन्तरविरोध हल गर्न असफल हुनुभयो । नेतृत्वकै संकट हो । नेताहरुको संकट हो । घरमुलीले सम्हाल्ने हो नि घरको समस्याको समाधान गर्ने कुरा । दुवै जना जिम्मेवार छन् । अलिकति बढि जिम्मेवार प्रधानमन्त्री ओलीजी हुनुहुन्छ । हामी विभाजित हुनुपर्ने स्थिति हो । मैले त मेरो नेता ओलीजीलाई मानेको थिएँ । अलग अलग हुँदा मलाई दुःख लागेको छ। तर, अब ओली कमरेडलाई मैले नेता मान्न सकिनँ । जनप्रतिनिधि संस्था, जनताको उत्साहका साथ मत दिए । दुई तिहाईको मत दिए । स्वयम प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो । मलाई दुःख लाग्यो । संसद् विघटन गर्नुहुन्थेन् । अहिले आन्तरिक विवादका कारण पार्टी विभाजन भयो । मैले प्रधानमन्त्रीलाई भनेको थिएँ कि तपाईँ पाँच वर्षको प्रधानमन्त्री हो । उहाँले संसद्मा बहुमत प्राप्त गर्नुहुन्थ्यो । तर, उहाँले संसद् फेश गर्नुभएन ।’

उनले नयाँ सरकार गठनको लागि सहमतिको आधारमा छलफल चलिरहेको सुनाए । तर, प्रधानमन्त्रीको टुँगो नलाग्दासम्म आफ्नो पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने जिकिर गरे । शर्माले भने,‘नयाँ सरकार बन्ने बाटो सिर्जना नभएसम्म समर्थन फिर्ता लिँदैन् । संकट निम्त्याउने मान्छे हामीलाई चाहिएको छैन् । ओलीजीले संसद फेश गर्नुभएन । त्यो उहाँको एउटा कमजोरी भयो । संसद् पूनःस्थापना भएपछि उहाँ पछि फर्किएको भए, राजनीतिक एउटा सही बाटोबाट अघि बढ्थ्यो । हामीले संसदबाट जबरजस्ती अवस्थाबाट हटाउनुपर्ने अवस्था आयो । प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गरेर । राजीनामा दिन मान्नुभएको छैन् । उहाँसँग हठ छ, त्यो नै उहाँको कमजोरी हो । हठले मान्छेलाई बिगार्छ । आग्रह र पूर्वाग्रह नराखी अघि बढ्नुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *