मकवानपुरको नवनिर्मित प्रसूति केन्द्र हस्तान्तरण

डिसी नेपाल
५ चैत २०७७ ६:५६

काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सैनिक श्रीमती सङ्घका अध्यक्ष दीपा थापाले मकवानपुरको कैलाश गाउँपालिका–८ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन गाउँपालिकाकालाई हस्तान्तरण गरेका छन्।

सैनिक श्रीमती सङ्घद्वारा निर्माण गरिएको उक्त भवन बुधबार आयोजित समारोहमा गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रसूति केन्द्र स्थापना भएसँगै त्यस क्षेत्रका आमा तथा नवजात शिशुको स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउने बताउँदै प्रधानसेनापति थापाले संविधानप्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी हकको सम्मान र संरक्षणका लागि सरकारले लिएका पहलमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, “इतिहासका हरेक कालखण्डमा नेपाल र नेपालीको हित र स्वार्थका लागि सेना समर्पित रहँदै आएको छ।” यसअघि उक्त नवनिर्मित केन्द्रको प्रधानसेनापति थापाले उद्घाटन गरेका थिए। मातृशिशु मृत्युदर अधिक रहेको मकवानपुरको कैलाश गाउँपालिका पहिचान गरी ‘सुरक्षित प्रसूति : सुन्दर सृष्टि’ भन्ने नाराका साथ उक्त केन्द्र निर्माण भएको सो अवसरमा जानकारी दिइयो। सो अवसरमा स्थानीय विपन्न घरपरिवारलाई राहतस्वरुप ५०० थान मण्डिसमेत वितरण गरिएको थियो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *