दलको बैठकमा सहभागी नहुने नेपाल समूहको अडान, अनुपस्थित भएकै कारण कारवाही हुँदैनः मुख्य सचेतक

डिसी नेपाल
५ चैत २०७७ ७:४०

काठमाडौ। सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सहभागी हुन सबै सांसदलाई सूचना पठाइएको एमाले मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए।

‘सूर्य चिन्हबाट निर्वाचित भएको सबै सदस्यलाई दलको बैठकमा सहाभागी हुन सूचना पठाइएको छ,’ मुख्य सचेतक भट्टराईले डिसी नेपालसँग भने, ‘यो नियमति प्रक्रिया अन्तर्गतको बैठक हो। संसद जारी रहेको बेला पटक पटक दलको बैठक बस्ने गर्छ। तर दलको बैठकमा अनुपस्थितिका कारण कारवाहीको विषय बन्दैन।’

तर माधव नेपाल समूहले भने दलको बैठकमा सहाभागी नहुने जनाएको छ। आफूहरु राष्ट्रिय भेलामा व्यस्त भएका कारण दलको बैठकमा सहाभागी नहुने नेपाल समूहले जनाएको छ।

बुधबार राष्ट्रिय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै माधव नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले आफूहरु कार्यकर्ता भेलामा व्यस्त भएका कारण दलको बैठकमा सहभागी हुन नसक्ने बताएका थिए। तर दलको बैठकमा सहभागी नभएकै कारण कारवाही हुने अवस्था भने नरहेको मुख्य सचेतक भट्टराईले बताए।

‘कुनै काम विशेषले पनि दलको बैठकमा सहभागी नहुन सकिन्छ, त्यसैलाई आधार मानेर कारवाही गर्ने भन्ने हुँदैन,’ उनले भने, ‘दलको नेताले ह्वीप जारी गर्दा ह्वीप उल्लघंन गर्दा भने कारवाही हुन्छ।’

पछिल्लो समय एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ। असन्तुष्ट माधव नेपाल पक्षले बुधबार र बिहीबार दुई दिनसम्म राजधानीमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ। जसलाई अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एक नजर राखिने चेतावनी दिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *