अन्योलमा माधव नेपाल समूह

डिसी नेपाल
५ चैत २०७७ १२:३०

काठमाडौं। बुधबार संसदीय दलको नेताको हैसियतमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाए। ओलीले संसदीय दलको बैठक बोलाउँदा एमालेभित्रकै असन्तुष्ट माधव नेपाल समूह भने ललितपुस्थित हेरिटेज गार्डेनमा राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त थिए। संसदीय दलको बैठक आह्वान हुने वित्तिकै सूर्य चिन्हबाट निर्वाचित सबै सांसदलाई मोबाइलमा दलको बैठक बस्ने सूचना प्रवाह गरियो।

माधव नेपाल समूहको भेलाको संचालन गरिरहेका नेता सुरेन्द्र पाण्डेले बिहीबार संसदीय दलको बैठक बस्ने जानकारी आएको तर आफूहरु कार्यकर्ता भेलामा व्यस्त हुनु पर्ने भएकाले संसदीय दलको बैठकमा सहभागी नहुने घोषणा गरे।

बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा दलका बैठक बस्ने कार्यक्रम भन्दा केही अगाडि नेपाल समूहले आफू निकट प्रतिनिधिसभा सदस्य र राष्ट्रिय सभा सदस्यको हेरिटेज गार्डेनमा नै बैठक बोलायो।

बैठकमा समान्य छलफलपछि दलको बैठकमा सहभागी हुने निष्कर्ष निकालियो। तर, बैठकमा नेपाल समूहका शीर्ष नेता भने सहभागी नहुने भनियो। त्यसपछि नेपाल समूहका सांसदहरु दलको बैठकमा सहभागी हुन भन्दै वालुवाटार जाने तयारी गरे।

त्यसपछि फेरि एकै छिनमा शीर्ष नेता बाहेक अन्य सांसद बालुवाटारको बैठकमा सहभागी हुने भनियो। त्यसपछि समानुपातिकतर्फका सांसद बालुवाटार प्रस्थान गरे। केही सांसादहरुले बालुवाटार बैठकमा जाने भए सबै जानुपर्छ, नत्र कोही पनि सहभागी हुन नहुने भन्दै असन्तुष्टि जनाए।

नेपाल समूहले बालुावटार बैठकसँग जुध्ने गरी कार्यक्रम राखेपनि दलको बैठकमा जाने वा नजाने भन्ने विषयमा ठोस निर्णय गर्न नसक्दा नेपाल समूहभित्र असन्तुष्टि बढेको छ।

नेपाल समूहका केन्द्रीय सदस्य समेत रहेका संसद राजवहादुर बुढाले कार्यक्रम जुधेको र संसदीय दलको बैठक भन्दा महत्वपूर्ण कार्यक्रममा आफूहरु सहभागी भएको भन्दै नजाने निर्णय गरेको प्रतिक्रिया दिएका थिए। फागुन २३ गते सर्वोच्च अदालतले पूर्ववत नेकपा एमाले र माओवादी केन्द्र व्युँताइदिएपछि एमाले भित्र किचलो बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *