एमाले संसदीय दलको बैठक : गुटको भेलामा सहभागी नहुन सांसदहरुलाई निर्देशन

डिसी नेपाल
५ चैत २०७७ १४:०६

काठमाडौं। नेकपा एमाले गुटगत भेलामा सहभागी नहुन सांसदहरुलाई निर्देशन दिएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले गुटको भेलामा सहभागी नहुने सांसदहरुलाई निर्देशन दिएको हो।

‘सबै जनालाई दलको बैठकमा आउन र सँगै अगाडि बढ्न आग्रह गरिएको हो,’ बैठकमा सहभागी सांसद लालबावु पण्डितले डिसी नेपालसँग भने, ‘सँगै अगाडि बढ्नै नसक्ने अवस्था आयो भने विधान अनुसार चल्नुपर्छ भन्ने आशयमा छलफल मात्रै भएको हो।’

सर्वोच्चको फैसलाले पूर्ववत अवस्थामा पार्टी फर्किएपछि पहिलो पटक बसेको संसदीय दलको बैठकमा माधव नेपाल समूहका सांसदहरु अनुपस्थित थिए। त्यो अनुपस्थितिप्रति लक्षित गर्दै गुटको भेलामा सहभागी नहुन निर्देशन दिइएको एक सांसदले बताए।

दलको बैठकमा १ सय ४ जना सांसदको उपस्थिति रहेको बताइएको छ। माधव नेपाल समूहका केही सांसद बैठकमा सहभागी थिए भने केही सांसद बीच बाटोबाटै फर्किएका थिए। बैठकमा बामदेव गौतम सहभागी थिएनन् भने उनकी पत्नी तुलसा थापा भने सहाभागी थिइन्।

बैठकले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड पनि गठन गरेको छ। बोर्डको प्रमुखमा संसदीय दलका नेता ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाललाईसहितका नेतालाई रोलक्रम अनुसार राखिएको छ।

यसैगरी बैठकले संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराईको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलका सदस्यमा शेरबहादुर तामाङ र विमला पौडेले रहेका छन्। संसदीय दलको अर्को बैठक सात गते शनिबार बस्ने बताइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *