प्रधानमन्त्री ओलीको आलोचनामै सकियो माधव समूहको भेला

डिसी नेपाल
५ चैत २०७७ १८:२२

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेमा चर्किएको विवादका बीच वरिष्ठ नेता माधवकुमार नेपाल समूहले काठमाडौंमा गरेको दुई दिने राष्ट्रिय भेला एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनामा केन्द्रित रहँदै सकिएको छ।

भेलाले पारित गरेका १७ बुँदा मध्ये धेरैजसो बुँदामा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको आलोचना गरिएको छ। १७ बुँदाका पहिला दुई बुँदामा नेता तथा कार्यकर्ताहरुलाई धन्यावाद दिइएको छ भने त्यसपछिका बुँदामा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको आलोचनामा केन्द्रित छन्।

दुईवटा बुँदामा कोरोनाबारे उल्लेख गरिएको छ भने एक बुँदामा परराष्ट्र नीतिबारे उल्लेख गरिएको छ। अन्य बुँदाहरुमा ओलीको आलोचना गरिएको छ।

भेला सकिएपछि आयोजित पत्रकार सम्मेलनमा भेलाका निष्कर्षबारे जानकारी दिँदै सो समूहका प्रचार विभागका प्रमुख योगेश भट्टराईले पार्टी अध्यक्ष ओलीले विधि र विधानअनुसार पार्टी चलाउनुपर्नेमा, माओवादी र एमालेबीच पुनः एकीकरण गर्न छलफल गर्नुको साटो २८ फागुनमा गुट भेला गरी, पार्टी विधान संशोधन, नेताहरुको जिम्मेवारी खोस्ने र केन्द्रीय सदस्य मनोनित गरेकोमा विरोध गरिएको जनाएको छ। यस्तै भेलाले पार्टीको सिद्धान्त र विधिविपरित भएका सबै निर्णयको विरोध गरेको छ। भेलाले अध्यक्ष ओलीले पार्टीको एकता जोगाउनभन्दा विभाजन तर्फ धकेलेको निष्कर्ष निकालेको छ।

भेलाले पार्टीको विधानअनुसार स्थायी कमिटी, पोलिट ब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेको छ।

यस्तै भेलाले तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताउने गरी फागुन २३ को सर्वोच्चको फैसलाप्रति असहमति जनाएको छ। सर्वोच्चको सो फैसलाले पार्टीको एकीकरण गर्न पाउने अधिकार नै संकुचित भएको निष्कर्ष निकालेको छ। भेलाले नेकपा खारेज गर्दै एमाले फुटाउने देशीविदेशी षडयन्त्र भएकोसमेत बताएको छ।
यस्तै भेलाले ओली सरकारले देश हितविपरित काम गरेको, कालापानी, लिपुलेक र लिम्पियाधुराबारे पछिल्लो पटक मौन देखिएको भन्दै विरोधसमेत जनाएको छ। यस्तै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्ताको तस्तै अनुमोदन गर्न नहुने निर्णय गरेको छ। नेपालको हित अनुकुल बनाएरमात्र एमसीसी पारित गर्नुपर्ने भेलाले निष्कर्ष निकालेको छ।

यस्तै भेलाले कोरोनाविरुद्धको खोपको घरदैलो अभियान चलाउनुपर्ने, यो प्रकणमा भएका भ्रष्टाचारबारे छानविन हुनुपर्ने माग गरेको छ। यस्तै नेत्रविक्रम चन्द विप्लव शान्तिपूर्ण राजनीतिमा आएकोमा स्वागत गरिएको छ।

पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले ७ गतेका लागि अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने बताए। उनले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कारबाहीको धम्की दिएको भन्दै कारबाह िगर्न किन ढिलो भनी प्रश्न गरे। उनले भने, ‘मलाई अच्चम्म लागेको छ, हामीलाई कारबाही गर्न किन ढिलाई गर्नुभएको छ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *