विद्युतजन्य फोहोर व्यवस्थापनमा नमूना कार्यक्रम शुरु गर्दै महानगर
काठमाडौँ। काठमाडौं महानगरको वडा १५ ले वडा क्षेत्रबाट उत्पादन हुने विद्युतीय फोहोर व्यवस्थापनमा नमूना कार्यक्रम शुरु गर्ने भएको छ। विश्व पुनःप्रयोगीय दिवस २०२१ को सन्दर्भमा पारेर बिहीबार वडामा आयोजना गरिएको ‘विद्युतीय फोहोर व्यवस्थापनमा महानगरको भूमिका’ विषयक छलफल गोष्ठीमा वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले फरक प्रकारका फोहोर व्यवस्थापनमध्ये विद्युतीय फोहोर बढी हानीकारक हुने टिप्पणी गर्दै यसको व्यवस्थापनका लागि छुट्टै प्रणालीमा आधारित कार्यक्रम शुरु गर्ने बताए।
छलफलपछि वातावरण व्यवस्थापन महाशाखा प्रमुख सरिता राईको संयोजकत्वमा कार्यक्रम कार्यान्वयन कार्यदल गठन गरिएको छ। यसमा वडाभित्र फोहोर व्यवस्थापनमा सक्रिय संघ संस्था र समुदायका प्रतिनिधिहरु सदस्य राखिएको छ।
‘विद्युतजन्य फोहोर व्यवस्थापन सजिलो काम होइन। जटिल भएकै कारण हामीले प्राथमिकता साथ योजना बनाउनु पर्ने भएको हो’, डंगोलले भने, ‘हामी त खेतबाट पेटमा र पेटबाट खेतमा भन्दै फोहोर व्यवस्थापनको अभ्यासबाट अघि बढेका हौं। अहिले समयले रसायनजन्य, धातुजन्य, प्लाष्टिकजन्य, उद्योगजन्य, अस्पतालजन्य विभिन्न खालका फोहोर उत्पादन हुन थालेको छ। यसबेला हाम्रो चलन यस्तो थियो भनेर मात्र पुग्दैन। त्यसैले वडा १५ सिकाइ र अभ्यासका लागि विद्युतीय फोहोर व्यवस्थापन प्रणाली शुरु गर्दैछौं।’
छलफल शुरु हुनु अघि त्रि—चन्द्र क्याम्पसकी सह—प्राध्यापक डा. ज्योती गिरीले ‘वर्तमान सन्दर्भ र विद्युतीय फोहोर व्यवस्थापन’ विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन्।
‘कर तिरेर ल्याइने सामानबाट उत्पादन हुने भएकोले विद्युतीय फोहोरसँग अर्थतन्त्र जोडिएको छ। यो स्वास्थ्य र वातारणीय ह्राससँग जोडिएको विषय हो। प्रशोधनमा प्रविधि र स्रोत जुटाउन समस्या छ। यसैले सहज व्यवस्थापन हुँदैन।’
समस्या देखाउँदै डा. गिरीले यसको व्यवस्थापनका लागि ७ नियम पालना गर्नुपर्ने सुझाव दिन्छिन्। पुनःविचार, अस्वीकार, कम प्रयोग, अर्को कार्यमा प्रयोग, पुनःप्रयोग, पुनःरिसाइकल र कुहाउने उनले दिएका ७ विधि हुन्। विभिन्न व्याक्टेरियाको प्रयोग गरेर विद्युतीय फोहोरमा भएका तत्व छुट््याउने विधिलाई उनले कुहाउने विधिको एउटा रुप भएको बताइन्।
छलफलमा वडा सदस्य आनन्द गौत्तमले, घरेलु फोहोरसँग विद्युतीय फोहोर मिसिएर आउने भएकोले सामान्य फोहोर पनि हानीकारक बन्दै गएको बताए। फोहोरको दिगो व्यवस्थापनका लागि प्रविधिमा आधारित योजनाबद्ध कार्यक्रम खाँचो भएको उनको भनाइ थियो।
कार्यक्रममा महानगरको वातावरण प्रशासन महाशाखा प्रमुख सरिता राई र वातावरण इञ्जिनियर निशा कोइराला सहभागितामुलक र समुदायमा आधारित कार्यक्रमबाट दिगोपना खोजी भइरहेको उल्लेख गरिन्।
फोहोर व्यवस्थापनमा सहरको समस्याका कुरा उल्लेख गर्दै गुठिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले, नियमित फोहोर संकलन गर्ने पक्षले मिश्रित फोहोर बटुल्न पाए हुन्थ्यो भन्ने अपेक्षा गर्ने र सरकारको नीति तथा बर्गीकृत फोहोर व्यवस्थापनमा उद्यमशीलता गरिरहेका पक्षले छुट्टिएको फोहोर व्यवस्थापनको योजना बनाउने भएपछि समस्या देखिएको बताए।
त्यस क्रममा एकीकृत पुनःप्रयोगीय बस्तु संकलन केन्द्रका अध्यक्ष बासुदेव उप्रेतीले आफूसँग सहरमा उत्पादन भएको सबै विद्युतीय फोहोर खरिद गर्ने क्षमता भएको दावी गरे। त्यस क्रममा वेष्ट म्यानेजमेन्टका रामेश्वर पोखरेल र कान्तिपुर सिसडोल वातावरण सेवाका रमेशकुमार नेवाः ले पुन प्रयोग हुने सामानको केही भाग टुक्रा बनाएर बेच्ने र बाँकी भाग फोहोरमा मिसाउने भएपछि झन् समस्या भएको तर्क गरे।
डोको रिसाइकल्सका संस्थापक सदस्य पंकज पंजियारले विद्युतीय फोहोर व्यवस्थापनको अनुभव सुनाउँदै यो काममा सरकारकै नेतृत्व चाहिने उल्लेख गरे।
उत्पादकले कुनै विद्युतीय फोहोर पैसा लिएर बेच्न सक्छन्। कुनै फोहोर पैसा तिरेर व्यवस्थापन गर्न लगाउनु पर्ने हुन्छ। सबै फोहोरबाट आय मात्र हुँदैन। निजी लगानीकर्ताल आफ्नो लगानीको प्रतिफल प्राप्त गर्नु पर्ने भएकोले यसमा सरकारको अगुवाई आवश्यक रहेको उनको तर्क थियो।
सन् २०१९ जनवरी २४ तारिख संयुक्त राष्ट्र संघले वल्र्ड इकोनोमिक फोरममा प्रस्तुत गरेको प्रतिवेदनअनुसार सन् २०१८ मा विश्वभर करीब ४८ करोड ५० लाख मेट्रिक टन विद्युतीय फोहोर उत्पादन भएको थियो।
बिहीबारको छलफल गुठि र काठमाडौं रिसाइकल्ससँगको सहभागितामा वडा समितिको कार्यालय १५ र वातावरण व्यवस्थापन विभागले आयोजना गरेका थिए।
यो दिवस सन् २०१८ बाट ग्लोबल रिसाइक्लिङ् फाउन्डेसनले मनाउन थालेको हो। फोहोरको परिमाण घटाएर वातावरण सुधारमा जनसहभागिता बढाउने उद्देश्यले दिवस शुरु गरिएको हो।
Facebook Comment