जसपाको पूर्व राजपा समूह बैठकः समायोजनकाे कामका लागि ६ सदस्यीय कार्यदल गठन

डिसी नेपाल
५ चैत २०७७ २१:१०

काठमाडौं। जनता समाजवादी पार्टीको एक घटक पूर्व राजपाको समूहले पार्टी समायोजनका काम टुंग्याउन एक कार्यदल गठन गरेको छ। बिहीबार पूर्वराजपा समूहको बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको नेता केशव झाले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘पार्टी एकीकरणमा हाम्रो (राजपा)तर्फको समायोजनको काम बाँकी थियो। त्यसैले ती बाँकी काम पूरा गर्नका लागि एक ६ सदस्यीय कार्यदल गठन गरिएको छ। यो कार्यदलले ८–१० दिनमा काम पूरा गर्नेछ।

कार्यदलमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, सुनील रोहित, रमेश यादव र संजय यादव छन्। राजपातर्फको सबै संगठन चुस्तदुरुस्त बनाउन समायोजनको काम पूरा गर्नका लागि पूर्वराजपामा कार्यदल गठन भएको झाले बताए। वडादेखि केन्द्रसम्म समायोजनको काम बाँकी रहेको उनले बताए।

यस्तै बैठबमा राजनीतिक अवस्थाका बारे पनि सामान्य छलफल भएको उनले बताए। उनले भने, ‘प्रमुख प्रतिपक्षी काँग्रेस र सरकारलाई समर्थन दिएको माओवादीले स्पष्ट पोजिसन नलिएकाले जसपाले निर्णय गर्न हतार नगर्ने कुरा उठेको छ।’

उनले काँग्रेस सत्ता गठबन्धन बनाउन स्पष्ट नीति नलिएको उनले बताए। यस्तै माओवादीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिइनसकेकाले वर्तमान सरकारसँग बहुमत रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *