नयाँ सरकार गठनमा कांग्रेसमा दुई धार : देउवा मौन, पौडेल पक्षमा हतारो

डिसी नेपाल
६ चैत २०७७ ७:३३

काठमाडौं। माओवादी केन्द्रसले समथन फिता लिने वित्तिकै अल्पमतमा पर्ने वर्तमान सरकारको विकल्पको खोजी प्रमुख प्रतिपक्ष नेपाली काग्रेसले खासै गरेको छैन। काग्रेसले सरकारको नेतृत्व लिन राजनीतिक वातावरण नबनिसकेको बताउँदै आएको छ।

विशेष गरी सभापति शेरबहादुर देउवा तत्काल सरकारको नेतृत्व लिन हतार गर्न नहुने पक्षमा छन्। तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर भने अब सरकारको नेतृत्व लिन ढिला गर्न नहुने पक्षमा छ।

तर सभापति देउवाले आफ्नो ध्यान भदौमा हुने महाधिवेशनमा केन्द्रित गरेको र अहिले कांग्रेसको प्राथमिकतामा सरकार नरहेको बताउने गरेका छन्।

‘म अब एक कार्यकाल सभापति बनेर पार्टी हाँक्ने हो,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै देउवा निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘अहिले कांग्रेसले सरकारको नेतृत्व गर्ने राजनीतिक वातावरण बनिसकेको पनि छैन। मेरो ध्यान अहिले सरकारको नेतृत्व गर्ने भन्दा पनि अर्को कार्यकाल पार्टी हाँक्नेमा केन्द्रित छ।’

हाम्रो अन्तिम विकल्प भनेको निर्वाचन हो, ओली सरकारले निर्वाचन गराउन सक्दैन। त्यसैले सबै दलसँग छलफल गरेर अब कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ : महामन्त्री काेइराला

संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षदलको नेता ‘प्राइममिनिस्टर इन वोइटिङ’ हो। सरकार असफल हुँदा स्वभाविक रुपमा विपक्षीदलको नेताले अग्रसर लिनुपर्ने हो। भावी सत्ता समीकरणका विषयमा अहिलेसम्म नेकपा माओवादी केन्द्र र संसदको चौथो दल राजपाको दौडधुप चलेको छ। तर नेपाली कांग्रेस सभापति देउवा ढोकामै आएको प्रधानमन्त्री पद छोडेर झ्यालबाट चिहाइरहेका छन् भनेर आम राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।

तर नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कांग्रेसको अन्तिम लक्ष्य निर्वाचन भएको बताउँदै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराउन नसक्ने भएकाले कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताउँछन्।

‘अहिले नै सरकारको नेतृत्व गर्ने वातावरण बनिसक्यो भन्ने होइन। सबै दलसँग छलफल गरेर वर्तमान सरकारको विकल्प खोज्नुपर्छ,’ महामन्त्री डा. कोइरालाले डिसी नेपालसँग भने, ‘हाम्रो अन्तिम विकल्प भनेको निर्वाचन हो, ओली सरकारले निर्वाचन गराउन सक्दैन। त्यसैले सबै दलसँग छलफल गरेर अब कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ।’

ओलीलाई नस्वीकार्ने अनि हटाउन पनि नसक्ने अवस्था सृजना गर्न नहुने उनको भनाइ थियो। सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा सबै दलसँग छलफल भइरहेको उनले बताए।

सभापति इतर पक्ष सरकारको नेतृत्व लिनुपर्ने अडानमा कायम रहेका बेला सभापति देउवा भने आफू पदको लागि मरिहत्ते नगर्ने तर परिस्थिति बनेको अवस्थामा जिम्मेवारी लिनबाट नभाग्ने मनस्थितिमा रहेका छन्।

‘कांग्रेससँग सरकार गठनका लागि आवश्यक सिट नभएको र अन्य दलको सिनारियो पनि स्पष्ट नभइसकेको अवस्थामा सरकारको नेतृत्व गर्न हतार गर्न हुँदैन भन्ने पक्षमा सभापतिजी हुनुहुन्छ,’ देउवा निकट स्रोतले भन्यो। माओवादी केन्द्र र जसपाको एक समूहले काग्रेसलाई सरकारको नेतृत्व लिन आग्रह गर्दै आएको छ।

जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको तर्क गर्दै देउवा निकट मानिने केन्द्रीय सदस्य एनपी साउदले भने, ‘हामीलाई जनताले प्रतिपक्षको मत दिएको हुनाले हामीसँग बहुमत छैन। ओली सरकार असफल भैसकेको छ। स्वभाविक रुपमा नयाँ सरकार निर्माणको जिम्मेवारी हामीलाई छ। हामीलाई नयाँ सरकार गठनका लागि माओवादी केन्द्र र जसपाको समर्थन चाहिन्छ। मओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गरेको छैन भने राजपाको मागहरु ओली सरकारलाई पनि प्रस्ताव गरेको अवस्था छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *