४० वर्षदेखि भारतीय जेलमा रहेका तिम्सिना भोलि छुट्ने, ६–६ महिनामा तारिख

डिसी नेपाल
६ चैत २०७७ १६:३६

काठमाडौं। विगत ४० वर्षदेखि भारतको जेलमा रहेका ईलामका दुर्गाप्रसाद तिम्सिना शनिबार थुना मुक्त हुनेका छन्। हत्या आरोपमा ४० वर्षदेखि मुद्दाको सुनुवाई नहुँदा जेलमा रहेका उनलाई उच्च अदालत कोलकाताले तीनदिन अघि थुनामुक्त गर्न आदेश दिएको थियो।

सो आदेशपछि दुर्गाप्रसादका आफन्तहरु कोलाकाता पुगेर उनलाई बुझिलिने सम्झौता शुक्रबार गरेका छन्। दुर्गाप्रसाद शुक्रबार नै थुनामुक्त हुने भनिए पनि आवश्यक प्रक्रिया पूरा नहुँदा शनिबारमात्र जेलमुक्त हुने भएका हुन्।

ईलामको साविक चुलाचुली गाविसकबाट ४० वर्षअघि हराएका दुर्गाप्रसाद भारतीय जेलमा रहेको खबर गत जनवरीमामात्र सञ्चार माध्यममा आएको थियो। दुर्गाप्रसादलाई जेलमै रहँदा १० वर्षअघि चिनेका एकजना भारतीयले उनलाई फेरि जेलमै देखेपछि सो विषयमा सञ्चार माध्यमलाई जानकारी दिएका थिए। सञ्चार क्लबले ईलाम पुगेर दुर्गाका भाई र उनकी आमालाईसमेत भेटेको थियो।

हत्या आरोपको मुद्दा सुनुवाई नभएको र ४० वर्षसम्म जेलमा रहेको विषय सार्वजनिक भएपछि उनका आफन्तहरुले थुनामुक्तका लागि उच्च अदालत कोलकातामा निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाई गर्दै ६–६ महिनाको तारेखमा उनलाई छोड्न अदालतले आदेश दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *