माधव समूहको निर्णयः बालुवाटारमा बोलाइएको बैठकमा नजाने, पार्टी कार्यालयमा भए सोच्न सकिने

डिसी नेपाल
६ चैत २०७७ २०:१६

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेमा चर्किरहेको विवादका बीच अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालको अगुवाईमा रहेको समूह सहभागी नहुने भएको छ।

यो समूहको स्थायी कमिटी सदस्यहरुको बैठकले अध्यक्ष तथा ओलीले बोलाएको शनिबारको बैकठमा नजाने निर्णय गरेको हो। शुक्रबार साँझ भएको यो समूहको स्थायी कमिटी सदस्यहरुको बैठकले अध्यक्षले शनिबारका लागि बोलाएको बैठकमा नजाने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

शुक्रबार साँझ बसेको माधव–झलनाथ समूहको बैठकले दुईवटा निर्णय गरेको छ। स्रोतका अनुसार बैठकले ‘विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने। बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने’ निर्णय गरेको छ।

यस्तै ‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने’ निर्णय गरिएको स्रोतले जानकारी दियो।
उता शनिबारको बैठकअघि सबै समूहलाई बैठकमा जाने वातावरण बनाउनका लागि दुबैतर्फका मझौला नेताहरु आपसी सम्पर्कमा रहेको अध्यक्ष ओली निकट स्रोतले बताएको छ। स्रोतले भन्यो, ‘तल्लो तहका नेताहरु सम्पर्कमा हुनुहुन्छ। तर ठोस प्रगति भने भइसकेको छैन।’

शनिबारनै आयोजित एक कार्यक्रममा राष्ट्रिय एकता अभियान चलाइरहेका एमाले उपाध्यक्ष वामदेव गौतमले शनिबारको बैठकमा सहभागी हुन माधव समूहलाई आव्हान गरेका छन्। तर, उनले बैठबमा सहभागी हुनका लागि आवश्यक वातावरण भने अध्यक्ष ओलीले बनाउनुपर्ने बताएका छन्। माधव समूह पनि बैठकमा सहभागी हुने वातावरण बने आफू पनि बैठकमा सहभागी हुने उनले बताएका छन्। तर, अहिलेकै अवस्थामा भने आफू पनि बैठकमा सहभागी नहुने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *