जतिसक्दो चाँडो नयाँ जनादेशमा जानु नै राजीतिक निकास होः सुरेन्द्र पाण्डे

डिसी नेपाल
९ चैत २०७७ २३:२४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले मुलुकको निकासको लागि अब ताजा जनादेशमा जानुपर्ने धारणा राखेका छन् । संसद्ले अहिलेको संकटको निकास दिन नसक्ने उनको दाबी छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अब २० महिनापछि त निर्वाचन हुन्छ । नेकपाले त दुई तिहाईको सरकार बनाएको हो, प्रचण्ड बहुमतले पनि यो स्थिरता दिन सकेन । अहिले संसद्को गतिविधि भएन । अहिले त नेकपा (एमाले) भित्र नै रडाको छ । अब झन÷झन अस्थिरतातर्फ मुलुक गैरहेको छ । संसदले पनि अहिले संकटको निकास दिन सक्दैन् । फ्रेश म्याण्डेट चाहिन्छ । जतिसक्दो चाँडो नयाँ जनादेशमा जानु नै राजीतिक निकास हो । दलहरुबीच राष्ट्रिय सहमति कायम गरौं । नयाँ पार्लियामेन्ट स्थापित गरौं ।’

उनले आफ्नो पार्टीले त गत वैशाखमा नै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य समाप्त भयो भनेर आधिकारिक निर्णय गरेको स्मरण गराए । उनले भने,‘वैशाखदेखि आजसम्मको अवस्था हेर्दा धेरै राजनीतिक परिवर्तन भएको छ । नेकपा दुई दल भयो । अहिले घट्नाक्रम धेरै तलमाथि भएको अवस्था छ । गत पुष ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुभयो, त्यो कदम असंवैधानिक कदम भयो र यसलाई सच्याउनुपर्छ भनेर हाम्रो पार्टीले भनेको हो । संयुक्त आन्दोलन गरौं भनिएको थियो, तर हामीले आ–आँफै गरौं भनेर छुट्टाछुट्टै गरेको हो । अदालतले संसद् पूनःस्थापना गर्यो । असंवैधानिक भन्यो । यो स्वागतयोग्य हो ।’

संसद् पूनःस्थापना भएपछि वर्तमान सरकार हटाउने कुरामा सुरुमा मैदान नै खाली नभएको उनको टिप्पणी छ । उनले भने,‘केपी ओलीको यो सरकार माओवादी केन्द्रको समर्थनका कारण टिकेको छ । माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्छ । समर्थन फिर्ता नलिएसम्म सरकार बनाउन खेल्ने ठाउँ नै छैन् ।’

उनले अर्को सरकार बन्नको लागि त पहिलो कुरा अहिलेको सरकार ढल्नुपर्ने धारणा राखे । उनले भने,‘हाम्रो कुरा के हो भने यो सरकार ढल्नुपर्यो, अर्को सरकार बन्नको लागि । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछिमात्रै बाँकी पार्टीको काम आउँछ । हामी ओलीलाई विश्वासको मत हाल्दैनौं । पहिलो कुरा त समर्थन फिर्ता लिनुपर्छ । पहिलो चरणको काम नै भएको छैन् । सभापतिजीसँग माओवादी केन्द्रका र जसपाका नेताहरुले छलफल गर्नुभयो । हाम्रो सभापतिले त्यही भन्नुभएको छ । कसको नेतृत्व रहन्छ भन्ने कुरा, जसपाका नेताले भनेको पनि सुन्नुभयो । कांग्रेसले कहाँबाट पहल गर्ने ? सरकार बनाउनको लागि ?’

नेता पाण्डेले सरकार बनाउनुपर्ने अवस्था नै नआएको जिकिर गरे । उनले भने,‘सरकार बहुमतमा छ । सबैभन्दा पहिला, नेकपा (माओवादी केन्द्र) प्रष्ट हुनुपर्छ । माओवादी केन्द्र र जसपा केपी ओलीको विकल्पमा सरकार बनाउन तयार हुनुहुन्छ भने कांग्रेस नेतृत्व लिन तयार छ । पहलकदमी लिने भन्ने ठाउँमा हामी छैनौं । जसपाको ढुलमुले व्यवहार देखियो ।’

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीमाथि गरेको टिकाटिप्पणी गरेको उल्लेख गर्दै भने,‘उहाँले प्रधानमन्त्रीलाई यत्रो ब्लेम लगाउनुभएको छ । नैतिकता छ त ? तर, ओलीमाथि नैतिक संकट त छ । प्रचण्डले यत्रो ब्लेम लगाउने र समर्थन जारी राख्ने हो भने नैतिक संकट त उहाँमा पनि देखियो नि । ग्राउण्ड नै खाली नभईकन तिघ्रा उफार्ने काम हामी गर्दैनौं । मैदान खाली नहुँदै कुमजोरी खेल्न जाने कुरा त आउँदैन नि । सरकारले विश्वासको मत लिन सक्नुभएन र अर्को सरकार पनि बनेन भने फेरि निर्वाचनमा मुलुक जान्छ । कांग्रेस ओली सरकार पन्छाउन तयार छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *