सञ्चार माध्यमहरु पनि समावेशी हुनुपर्नेमा जोड

डिसी नेपाल
१० चैत २०७७ १८:०२

काठमाडौं। नेपाल अपाङ्ग महिला संघले पत्रकार तथा विभिन्न संघसंस्थासँग अन्तरसम्वाद कार्यक्रम गरेको छ। संघले १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२१, लैङ्गिक समानताका लागि समान सोच र व्यवहार: समृद्धिको आधार, महिला, अपाङ्गता र सिमान्तकृत समुदायको नेतृत्व, नेतृत्व क्षमतामाथिको प्रश्न र समाधानको लागि अबको बहसः सञ्चार माध्यमको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम मंगलबार आयोजना गरेको हो।

संघकी अध्यक्ष टिका दाहाल, सूचना आयोगकी पूर्व आयुक्त तथा डिसी नेपालकी सल्लाहकार सम्पादक यशोदा तिम्सिना, आरआर कलेजका उपप्रध्यापक तथा वरिष्ठ पत्रकार श्रीराम पौडेल, वरिष्ठ मानव अधिकारकर्मी तथा पत्रकार रेम विश्वकर्मा, सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डितको आतिथ्यमा संघले कार्यक्रम आयोजना गरेको हो।

अपाङ्ग महिला संघकी अध्यक्ष दाहालले देशभरीका महिलाहरु एकजुट भएर रणनीति तयार गर्ने लगायतका कुरा गर्न भेला गरिएको र यस बहसलाई मिडियामार्फत कसरी अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले कार्यक्रम आयोजना गरेको जानकारी गराइन्। उनले भनिन्, ‘तपाईहरुलाई यी बहसहरु नीति निर्माण गर्ने व्यक्तिहरुलाई सुनाउन आवश्यक छ भन्ने लाग्ला। तर पनि यो मिडियासँग अन्तरसंवाद कार्यक्रम भएको कारणले पनि मिडियामार्फत यी बहसहरुलाई कसरी अगाडि बढाउने, मिडियाको भूमिकालाई अझ कसरी प्रभावकारी बनाउने भन्ने कुरामा बढी जोड दिन खोजेका हौं। अन्य समूहसँग पनि बहस चलाउने छौं र आवश्यक कुराहरुमा अझ आवाज उठाउने छौं।’

कानुनी रुपमा दण्डनीय भए पनि महिलाप्रति विभेदपूर्ण भाषाहरु प्रयोग हुने गरेको गुनासो गर्दै उनले विशेष गरी आपाङगता, जातीय आदि महिलालाई सम्मानीय भाषाहरु प्रयोग गर्न कन्जुसाई नगर्न आग्रह गरेकी छन्। समावेशीकरणको व्यवस्था आफैमा राम्रो भए पनि समावेशीमा पर्ने महिलाहरुले आरक्षणका साथसाथै खुल्ला प्रतिस्पर्धामा पनि जानुपर्नेमा जोड दिइन्।

उनले नेतृत्वको भूमिकामा पुगेका महिलाहरुलाई पनि समावेशीकरणमा आएको भन्ने अनेक खालका दृष्टिकोणले हेरिने र लैंगिक, जातीय भेदभाव हुने गरेको गुनासो गरिन्। त्यस्ता गुनासाहरु धेरै आइराखेको बताउँदै उनले राम्रा कुराहरु पनि बाहिर ल्याउनु पर्ने बताइन्।

कार्यक्रममा सल्लाहकार सम्पादक यशोदा तिम्सिनाले महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, अपाङ्ता भनि छुट्याइएको नै गलत प्रक्रिया भएको जनाइन्। उनले थपिन्, ‘महिला ५१ प्रतिशत अनि त्यहाँभित्र अरु कति प्रतिशत छन्? त्यसलाई एकै ठाउँमा राखेर सम्बोधन गर्नु नै गलत छ। महिलाका मुद्दा भन्ने र महिलाभित्र समावेशी भन्ने? कति प्रतिशत समावेशी त?’ उनले महिलाका समस्या कोटामा भन्दा पनि सोचमा भएको बताइन्। समावेशीमा काम गरिराखेका सबै समुदायका महिलाप्रतिको सोचाई सकारात्मक हुनुपर्नेमा उनको जोड थियो।

तिम्सिनाले क्रिया भएपछि प्रतिक्रिया आउने हो भन्दै संविधानको धारा २७ र २८ जान्नु बुझ्नु नै धेरै समस्याहरुको समाधान हुने बताइन्। उनले हरेक नेपाली नागरिकलाई आफ्नो बारेमा सार्वजनिक सरोकारका विषयमा जान्ने हक र हकलाई सबैले बुझ्ने हो भने विभेदका समस्याको समाधान हुने बताइन्। उनले ती सम्बन्धित धारा नजानेसम्म आफ्नो हक स्थापित गर्न र अर्काको हक अधिकारको सम्मान गर्न नसकिने बताइन्। समावेशीकरण ल्याउनु जरुरी भएको तर ल्याएसँगै काम, कर्तव्य र अधिकार आदिको जानकार भएमा त्यो प्रभावकारी हुनेमा उनको जोड थियो।

सञ्चरिका समुहकी अध्यक्ष तथा पत्रकार नितु पण्डितले मिडियालाई कसरी समावेशी बनाउने भन्नेतिर लागिपरेको बताइन्। एक थरिका मान्छेले कोटा सिस्टम चाहिदैन भन्ने कुराहरु पनि भनिरहेको जनाउँदै उनले यस समयमा हामीले खोजेको समावेशी कस्तो हो त? भन्ने कुरामा बहस गर्नुपर्ने आवश्यकता रहेको बताइन्।

अध्यक्ष पण्डितले महिला सहभागिताभित्र अपाङ्गता भएका महिलालाई ल्याउने कि नल्याउने भन्ने भएकाले सबै वर्ग समुदायलाई हुने खालका कार्यक्रम ल्याउने गरी अगाडि बढ्नु पर्नेमा जोड दिएकी थिइन्। साथै, उनले माथिल्लो नेतृत्वमा भएका महिलाले समेत लैगिंक विभेद भोगिराखेको जनाउदै यस्ता विकृतिलाई हटाउन जरुरी रहेको बताइन्।

दलित समुदाय तथा मानव अधिकारको विषयमा आवाज उठाउँदै आएका युवा व्यक्तित्व रिन विश्वकर्माले मिडियामा दलित, अपाङ्गता महिलाका विषयहरु कम समावेश हुने गरेको गुनासो गरे। लामो समयदेखि पत्रकारिता गरिरहेका विश्वकर्माले सबै समुदायका महिलालाई समावेश गर्ने उद्देश्यले समावेशी मिडियासमेत चलाइराखेको बताए। कार्यक्रममा उनले घर, समाजदेखि नै महिला, दलित, आपाङ्गता आदिलाई सम्मान गर्ने वातावरण बसाउनु पर्नेमा जोड दिएका थिए। साथै, उनले समावेशीमा पनि सक्षम महिला समावेश हुनुपर्ने, जसको लागि उनीहरुको लागि तालिम, युनिभर्सिटी आदिमा शिक्षाको व्यवस्थापन गरिदिनु पर्नेमा जोड दिएका थिए।

वरिष्ठ पत्रकार श्रीराम पौडेलले मिडियाले पनि प्राथमिकताको कुरालाई त्यति उजागर नगरेको गुनासो गरे। उनले मिडियाले स्थानीय तहमा भएका घटनाहरु उजागर गर्दा पनि त्यस ठाउँका प्रमुखसँग भने प्रतिक्रिया लिने नगरेको गुनासो पोखे। यस्ता किसिमका जागरण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भन्दै पत्रकार पौडेलले यसले राप र ताप ल्याएको छ अब उज्यालो ल्याउने पक्षमा हुनुपर्ने जनाएका थिए।

नेपाल अपाङ्ग महिला संघ अपाङ्गता भएका महिलाहरुकै नेतृत्वमा सञ्चालित अपाङ्गता भएका महिलाका मानव अधिकार, सामाजिक, आर्थिक, राजनीतिक, न्यायिक तथा समानताका पक्षमा वकालत र पैरवी गर्दै आइरहेको राष्ट्रियस्तरको संस्था हो।संघले अपाङ्गता भएका महिलाको सशक्तिकरण, क्षमता विकास, पुनःस्थापना, मानव अधिकार सुनिश्चितता र समान प्रतिनिधित्वका लागी स्थानीयदेखि राष्ट्रियस्तरसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

कार्यक्रममा विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो। विशेष महिलासम्बन्धिका संघ संस्थाका प्रतिनिधिहरुले कार्यक्रममा समावेशी महिलाको विषयमा आ–आफ्नो भनाइ राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *