लोकसेवा आयोग पदाधिकारीविहीन, परिषदको बैठक बस्न नसक्दा पदाधिकारी नियुक्तिमा अन्याेल

डिसी नेपाल
११ चैत २०७७ ११:०७

काठमाडौं। अध्यक्ष उमेश मैनालीसहित पाँच जना सदस्यको पदावधि सकिएपछि लोकसेवा आयोग पदाधिकारी विहीन भएको छ।

संवैधानिक व्यवस्था अनुसार कार्यकाल सकिने एक महिना अघि नै पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएपनि संवैधानिक परिषदको बैठक बस्न नसक्दा आयोगका पदाधिकारीले अवकाश पाइसक्दा पनि नयाँ पदाधिकारी नियुक्तीका लागि सिफारिस हुन सकेको छैन।

संवैधानिक व्यवस्था अनुसार ६५ वर्ष उमेर पूरा भएपछि वा नियुक्ती भएको ६ वर्षे कार्यकाल पूरा भएपछि पदाधिकारी स्वत अवकाश हुन्छन्। आयोगका अध्यक्षसहित ६ वर्षे कार्यकाल पूरा भएपछि मंगलबार अध्यक्षसहित पाँच जना सदस्यले अवकास पाएका थिए।

मंगलबार अध्यक्ष उमेशप्रसाद मैनाली, सदस्यहरु विन्द्रा हाडा भट्टराई, अशोकुमार झा, व्रम्हदेव राय र कृष्णचन्द्र झाको ६ वर्षे कार्यकाल पूरा भएको थियो। उनीहरु पाँचै जनालाई मंगलबार बिहाइ गरिएको थियो।

अध्यक्ष मैनालीसहित ७ पदाधिकारी २०७१ साल चैत ११ गते नियुक्त भएका थिए। आयोगका प्रवक्ता तोयनाथ सुवेदीका अनुसार डा. गोविन्द कुसुम र श्रीपुरुष ढकालले उमेरहदका कारण यसअघि नै अवकास पाएका थिए।

नेपालको संविधान २०७२ ले संवैधानिक निकायमा पाँच सदस्यीय पदाधिकारीको व्यवस्था गरेको छ। आयोगमा नयाँ पदाधिकारी नियुक्ती गर्न संवैधानिक परिषदबाट सिफारिस गरेर संसदीय सुनुवाइबाट अनुमोदन हुनुपर्ने प्रावधान छ।

आयोग पदाधिकारी विहीन भएसँगै सूचना, विज्ञापन, लिखित नतिजा प्रकाशन, अन्तर्वार्ता, सिफारिस, सरुवा बढुवालगायतका काम ठप्प हुने आयोगका प्रवक्ता सुवेदीले जनाए।

‘सचिव बढुवा समितिको अध्यक्ष नै आयोगको अध्यक्ष हुने प्रावधान छ, कतिपय बढुवा समितिमा आयोगले तोकेका व्यक्ति सदस्य हुने प्रावधान छ,’ प्रवक्ता सुवेदीले डिसी नेपालसँग भने, ‘अब आयोग पदाधिकारी विहीन हुँदा ती सबै काम प्रभावित हुनेछन्।’

आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउँदा पनि आयोगका पदाधिकारीको पदावधि सकिन लागेको जानकारी गराइएको थियो। लिखित र मौखिक रुपमा नै आयोग चाँडै पदाधिकारी विहीन हुने अवस्था आएको जानकारी सम्बन्धित पक्षलाई जानकारी गराइएको आयोगले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *