टोखामा सात दिने होमस्टे तालिम सुरु

डिसी नेपाल
११ चैत २०७७ १२:५९

काठमाडौं। नेपाल पर्यटन बोर्ड, टोखा नगरपालिकाको सहयोग तथा शिवपुरी बौडेश्वर सामुदायिक होमस्टे तथा पर्यटन व्यवस्थापन समितिको आयोजनामा टोखा नगरपालिका–१ मा सोमबारदेखि सात दिने होमस्टे सम्बन्धि तालिम सुरु भएको छ।

तालिमको उट्घाटन गर्दै पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले तालिमबाट प्राप्त सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले टोखामा होमस्टे सञ्चालन गर्न सहयोग पुग्ने बताए।

काठमाडौं वरिपरि हाइकिङका थुप्रै रुटहरु रहेको जानकारी दिँदै वरिष्ठ निर्देशक ऐरले होटस्टेमा आउनेहरुलाई हाइकिङसंगै स्थानीयपनको आभास हुने गरी आतिथ्यता दिन सके पर्यटन विकास सँगसँगै त्यस क्षेत्रको आर्थिक गतिविधि चलायमन हुने बताए।

टोखा नगरपालिका वडा नं.१ का वडाध्यक्ष श्रीकृष्ण अधिकारीले नगरपालिकाले त्यसक्षेत्रको पर्यटन विकासको लागि विभिन्न रणनीति बनाएको उल्लेख गरे। उनले होमस्टे सञ्चालनले काठमाडौं आएका पर्यटकलाई त्यस क्षेत्रमा आर्कषण गर्न सकिने विश्वास लिएको बताए।

उनले टोखा नगरपालिका काठमाडौंको ऐतिहासिक नगरपालिका भएकोले यसको ऐतिहासिकतालाई संरक्षण गर्दै पर्यटनका गतिविधि अगाडि बढाइने र त्यसको लागि पर्यटन बोर्डको सहयोग आवश्यक भएको बताए।

शिवपुरी बौडेश्वर सामुदायिक होमस्टेका अध्यक्ष रामकुमार अधिकारीले ऐतिहासिक नगर टोखामा पर्यटकीय सम्भावना रहेकोले आफूहरु होमस्टेको माध्यमबाट पर्यटन प्रवद्र्धनको प्रयास गरेको बताए। उनले तालिममा सहभागीलाई सैद्धान्तिक तथा व्यवहारिक तालिम दिएर मात्र होमस्टे सञ्चालन गरिने र यो तालिम त्यसैका आधारस्तम्भ भएको जनाए।

अध्यक्ष अधिकारीका अनुसार तालिममा टोखा नगरपालिकाका ३० जनाको सहभगिता रहेको थियो। सहभागीलाई होमस्टे एशोसिएशन अफ नेपाल (होसान)का कोषाध्यक्ष सुरज बोहरा र सदस्य राजकुमार लामिछाने लगायतले प्रशिक्षण दिने छन्।

सहभागीलाई अमलटारी र सिरुवारी होमस्टेको अवलोकन तथा अन्य विभिन्न व्यवहारिक कक्षाहरु दिइने छ। टोखामा सुरुमा ५० जना क्षमताको होमस्टे सञ्चालनको तयारी गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *