लकडाउनबारे कुनै निर्णय भएको छैनः स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य मन्त्रालयले लकडाउनबारे अहिले कुनै निर्णय नभएको जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले संक्रमित संख्या उच्च भएमा परिस्थितीअनुसार निर्णय लिने बताए ।
पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि नेपालमा पनि कोरोना महामारीको दोस्रो लहर आउने जोखिम बढेको भन्दै सीमावर्ती नाकामा हेल्थ डेस्कको व्यवस्था गर्न र आवश्यक सुरक्षा पनि सरकारले गर्ने सह–प्रवक्ता अधिकारीले जनाए ।
चैत १५ र १६ गते मनाइने होलीलाई घरमै बसेर मनाउन पनि उनले आग्रह गरेका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने उनले बताए ।
कोरोना महामारीको दोस्रो लहर आउने जोखिम बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सुरक्षा निकायका प्रमुखहरुसँग भावी रणनीतिबारे छलफल गरेका छन्।
यस्तै, गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । बुधबार नेपालमा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
Facebook Comment