सभामुख सापकोटासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट

डिसी नेपाल
१२ चैत २०७७ २२:३५

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले बिहीबार शिष्टाचार भेट गरेका छन्। हदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत शाहलाई सफल कार्यकालको शुभकामना दिए। सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६१ वर्ष लामो कूटनीतिक सम्बन्धमा कहिल्यै तिक्तता नआएको बताउँदै दुई देशका जनताबीचको सम्बन्ध अझ पुरानो रहेको चर्चा गरे।

उनले निर्मल पूर्जा मगर नेतृत्वको नेपाली हिमाल आरोहीले यसै वर्ष पाकिस्तानको केटु हिमाल आरोहणमा प्राप्त गरेको ऐतिहासिक सफलतापछि पाकिस्तानका प्रधानमन्त्री, सेना प्रमुख लगायतले गरेको न्यानो स्वागत र प्रदान गरेको हौसलाका लागि आभार व्यक्त गरे। सङ्घीय संसद्मा नेपाल–पाकिस्तान संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले संसद्–संसदबीचको सम्बन्धलाई थप विकास, विस्तार र सुदृढीकरण गर्दै दुवै देशको समृद्धिका सम्भावना खोज्दै अघि बढ्न सकिने बताए। उनले दुई देशबीच कृषि, जलविद्युत्, पर्यटन, सूचना–प्रविधिलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औँल्याए।

राजदूत शाहले दुई देशबीच औपचारिक सम्बन्धले छ दशक पार गरेको र जनताजनताबीच लामो ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहेको चर्चा गरे। उनले आफ्नो कार्यकालमा नेपालमा व्यापारलगायत क्षेत्रमा सहकार्यका लागि गुणात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। पर्वतारोहण, जलविद्युत्लगायत क्षेत्रमा सहकार्यका सम्भावना खोज्न पहल गर्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *