माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, विधानले व्यवस्था गरे अनुसारको बैठक बोलाउन आग्रह गरिने

डिसी नेपाल
१३ चैत २०७७ ९:४५

काठमाडौं। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमाले माधव नेपाल समूहले आफू निकट केन्द्रीय सदस्यको बैठक बोलाएको छ। शुक्रबार विहान कलंकीको एक होटलमा बस्ने बैठकमा काठमाडौंमा उपलब्ध आफू पक्षीय केन्द्रीय सदस्यलाई बोलाइएको माधवन नेपाल निकट केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए।

बैठकमा नवौं महाविधेशनको विधानले व्यवस्था गरेअनुसारको बैठक बोलाउन आग्रह गरिने बताइएको छ। एमालेको नवौं महाधिवेशनबाट अध्यक्षसहित १५९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। विधानले दश प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने प्रावधान अनुसार कुल १९० केन्द्रीय सदस्यसहितको बैठक बोलाउने विषयमा छलफल गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए।

सर्वोच्च अदालतले नेकपा खारेज गरी एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएपछि माधव नेपाल समूहले त्यो निर्णय खारेज गर्नु पर्ने र जेठ दुई गतेको पुरोनो कमिटीको बैठक बोलाउनु पर्ने माग राख्दै आएको छ। तर ओली समूहले नेपाल समूहको मागलाई अस्वीकार गर्दै आएको छ।

एमाले पूर्ववत अवस्थमा फर्किएपछि माधव नेपाल समूहले समानान्तर कमिटी गठन गरेको भन्दै नेपालसहित चार जना नेतालाई स्पष्टीकरण सोधेको थियो। चारै जनाले नेताले बिहीबार स्पष्टीकरण बुझाएका छन्।

यता प्रधानमन्त्री ओलीले आजै एमाले संसदीय दलको बैठक बोलाएका छन्। ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा छलफल हुने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

डिसी नेपालसँग कुरा गर्दै भट्टराईले भने, ‘एमालेका सम्पूर्ण सांसदहरुलाई ३ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्ने भनी एसएमएस पठाइएको छ।’

प्रतिनिधिसभामा पार्टीका सांसदहरुको भूमिकाका बारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको भट्टराईले जानकारी दिए।
फागनु २३ गते सर्वोच्च अदालतले नेकपा एमाले पुनःस्थापना गरेपछि तीन पटक दलको बैठक बसेको छ। अहिलेसम्म माधवकुमार नेपाल समूहका सांसदहरु भने उपस्थित भएका छैनन्।

तर, उक्त समूहले चैत ७ गतेको बैठक चलिरहेका बेला बैठकमा आउन नसक्नुको लिखित कारण पठाएको थियो। प्रतिनिधिसभामा नेकपा एमालेका कुल १ सय २० सांसद मध्ये नेपाल समूहमा ३५ जना छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *