जग्गा धनी प्रमाण पत्र पाउँदाको खुशी

डिसी नेपाल
१३ चैत २०७७ १५:५५

काठमाडौँ। कीर्तिपुरको इतिहास जति गौरवमय छ त्यतीनै पीडादायी पनि छ। बाइसे चौबिसे राज्यमा टुक्रा भएको नेपाल राजा पृथ्वी नारायण शाहले राज्य एकीकरणको प्रारम्भमा वि.सं १८२२ चैत ३ गते कीर्तिपुरमाथि कठिन जित निकालेका थिए।

यही समयको तीन वर्ष पछि वि.सं १८२५ बाट नै नेपालको इतिहास आधुनिक कालखण्डमा गएको भनिन्छ। यो विचमा धेरै राजनीतिक व्यवस्था फेरियो र मुलुक अहिले संघीय लोकतान्त्रिक व्यवस्थामा छ तर कीर्तिपुर बासीको भूमि अधिकार फेरिन वि.सं २०७७ चैत १२ गते पर्खनुपर्यो।

८८ वर्षिय बृद्ध नर बहादुर दुवाल श्रेष्ठ जीवनमा पहिलो पटक गाँउ ब्लक जग्गाको प्रमाण पुर्जा पाउँदा हर्षित थिए। दुवाल भन्छन्, ‘पुर्खादेखिको संघर्ष आज ८८ बर्ष पुगेपछि पुरा भयो। यही देशको नागरिक भएर पनि राज्यले हामीलाई अधिकारबिहीन बनाएका थियो। मेरो बुवा, हजुरबुवा लगायत अगाडिका सबै पुस्ताले जग्गाको प्रमाण पुर्जा नदेखी मर्नुभयो, म चाँही पाएरै मर्ने भएँ।’

जग्गाको यो पुर्जा पाउनु जीवनको ठूलो सफलता र खुशि मिलेको दुवाल महशुुस गर्छन्।

बिहीवार एक कार्यक्रमबीच भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्वाहाङ्फेले कीर्तिपुर ८ नम्वर वडाका गाउँ ब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी थिइन्। २७१ जनालाई धनी पुर्जा वितरण गर्नुपर्नेमा उक्त कार्यक्रममा जेष्ठ नागरिक, एकल महिला, एकल पुरुष, अपाङ्ग र सोही वडाको वडाध्यक्ष बिनोद महर्जनलाई गाँउ ब्लकको जग्गा प्रमाण पुर्जा वितरण गरेकी थिइन्।

बाँकी २७१ पुर्जा कार्यलयबाट नै वितरण गर्ने नापी कार्यलय टोली प्रमुख प्रकाश घिमिरेले बताए।

कानुनी जटिलता

नापी विभाग कलंकी टोलीका प्रमुख प्रकाश घिमिरेका अनुसार यो गाँउ ब्लकको जग्गा धनी पुर्जा पाउने दाताहरुले घर जग्गा परापूर्वकालदेखि नै भोगचलन गर्दै आएका थिए। उनीहरुलाई धनी पुर्जा दिन कानुनी अवरोध थियो। कानुनी निर्देशिका नबनेका कारण यती समयसम्म पनि पाउन नसकेको घिमिरेले बताए।

उनीहरुलाई भूमिहीन भन्न मिल्दैन उनीहरुले उपभोग गरेको जमीन र घरको राजश्व राज्यलाई तिरेको तथ्याङ्क छ। जमिन बेच बिखान र घरको नक्सा पाससम्म गर्ने अधिकार उनीहरुलाई थियो, अहिले निर्देशिका बनेपछि गाँउ ब्लकको जग्गा धनी प्रमाण पत्र वितरण गरिएको टोली प्रमुख प्रकाश घिमिरेले बताए।

गाँउ ब्लकको जग्गा भनेको के हो ?

गाँउ ब्लकको जग्गा भन्नाले नापी हुँदा गाँउ ब्लक ठुलो भएको कारण कित्ता कायम नगरिएको तर नक्साको मार्जिनमा गाँउ, नगर, बजार वा शहरी ब्लक कायम भएको व्यहोरा उल्लेख भई उक्त ब्लकको वरिपरिका नक्साहरु जोडी मिलाउँदा ब्लकको स्वरुप देखिने र परापूर्वकालदेखि बस्तीको रुपमा रहेको ब्लक क्षेत्र वा नेपाल सरकारको निर्णयबाट गाँउ ब्लक क्षेत्र भनि निर्धारण भएको क्षेत्र गाँउ ब्लकको जग्गा हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *