स्वास्थ्य मन्त्रालयले भन्यो-मर्निङवाक नगर्नुस्, अत्यावश्यक बाहेक सवारी साधन नचलाउनुस्
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषणलाई मध्यनजर गरी सावधानी अपनाउन अपील गरेको छ । मन्त्रालयले शुक्रबार साँझ प्रद्षणका कारण जनस्वास्थ्यमा पर्नसक्ने प्रभावलाई रोकथाम गर्न पाँच बुँदे अपील जारी गरेको हो ।
घर बाहिर खुला स्थानमा नबस्न, मर्निङवाक नगर्न, फोहोर नजलाउन, कोभिड १९ का लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न अपिलपत्रमा आग्रह गरिएको छ ।
यस्तै, बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकहरुको विशेष ख्याल गर्न, धूलोधुँवा उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गर्न र सवारी साधन वा पेसा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषण कम गर्न अत्यावश्यक नभई सवारी साधनहरु नचलाउन आग्रह पनि गरिएको छ ।
शुक्रबार मौसम धुम्मिएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा बढेको छ। जसले गर्दा सर्वसाधारणहरुलाई घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ ।
पछिल्लो समय विभिन्न ठाउँमा लागेको डढेलोले गर्दा बढेको धुवाँ र सुख्खा मौसमका कारण धुलाले मौसममा खराबी आएको थियो । जसले गर्दा त्रिभुवन विमानस्थल समेत दुई घण्टा बन्द भएको थियो।
Facebook Comment