कथा : रातको प्रधानमन्त्री
छविमाया र छविरमण एकान्त संवादमा थिए। ‘कसैको शक्तिशाली घोडा हुनुभन्दा त गरीब घरको गुनिलो गाई हुन उत्तम होइन र हजुर?’
यो वाक्य सुन्दा सुन्दै हामी दुबै भित्र पसेर पर्दाको काठमाथि बस्यौं र प्रणय व्यापारको अभिनयमा जुट्यौं। किन्तु हाम्रो ध्यान र दृष्टि उनीहरुको संवादमा थियो।
‘हाम्रो माया पिरती देखेर सुगाले पनि यहाँ आएर सुरु गरे नि हजुर देख्नुहुन्न? सुगाको जोडी नछुट्टिएजस्तै हाम्रो जोडी पनि नछुटोस भन्ने लाग्छ, तर हजुरको लक्ष्य र बाटो हेर्दा त्यसै मन भरंग हुन्छ। सपना पनि अर्कै अर्कै देख्न थालेकी छु। के हुने हो थाहा छैन।’
‘कस्तो सपना देख्यौ? हाम्रो विषयमा देख्यौ कि मुलुकको?’
‘खै! हामीभन्दा फरक छ र मुलुक? हामी पनि त मुलुक भित्रै छौं नि। फेरि हामी नरहे पनि मुलुक त रहनुपर्छ नि हैन र?’ ‘त्यो आदर्शको कुरा हो, आदर्शले इच्छापूर्ति हुँदैन। आदर्श बाधक पनि हुन्छ। हामी यथार्थमा बाँच्नु पर्छ। अँ यो कुरा गर्दै गरौँला पहिले सपना भन के देख्यौ सपनामा?’
सुगा हुन भनेर होला छविमाया सुमन्त्री र छविरमण पातकीले हामीलाई खासै महत्व दिएनन्, स्वभाविक पनि हो। किन्तु हामीले आफ्नो ध्यान तिनको संवादमाथि केन्द्रित गर्न छोडेनाैं। छविमायाले भनाइलाई निरन्तरता दिई, हजुर मेरो विचारको विल्कुल विपरित हुनुन्छ। यता हजुरले महत्व दिनुभएन, सम्पूर्ण ध्यान हजुरको उतै छ भन्ने प्रमाणित भो। अब मलाई छल्न सक्नुहुन्न। मेरो सपना टर्दैन।’
‘त्यो कसरी? के देख्यौ? के भो?’
‘हजुरले आफ्नाे झण्डा लगेर यता बुझाउनु भो।’
अनि?
‘हजुरलाई छ दिनका लागि लागि राष्ट्रपति बनाइदिने शर्तमा हजुरले झण्डा बुझाइदिनु भयो। पहिले पदेन उपराष्ट्रपति हुनु भो। राष्ट्रपतिलाई सात दिन विदेश यात्रामा पठाए र रिक्त स्थानमा छ दिन हजुरलाई राष्ट्रपति बनाइदिए। बस देश जिम्मा लाइदिनुभो। हजुरले खोजेको त्यति नै होइन।’
‘अनि? ’
विधि पूरा गरिएको छ। सलामी, परेट, धुन सबै नकली बनावटी फोटोग्राफी भिडियो क्यामेरा स्वचालित किन्तु निष्प्रभावी। कुनै रेकर्ड छैन, कुनै घटना प्रतिविम्वित छैन। जे छ त्यो सबै गोप्य छ। त्यहाँका जनता र संचारलाई कुनै कुरा थाहा छैन।’ यदि यी चरा हाम्रा बुझ्ने रहेछन् र कतै भनिदिए भने हजुरको के जात्रा हुन्छ कल्पना गर्न सक्नुहुन्छ?’
अनि?
सारा बकवास! कमसेकम राष्ट्रपति हुने महत्वाकांक्षा राख्नेले घटना इतिहासबद्ध गरिनुपर्छ भनेर प्रस्ताव राख्नु पर्दैन। नोट छाप्ने, हुलाक टिकट ल्याउने, सहरको नाम राख्ने सडकको नाम तन्काउने, खास दिवस अर्थात मिलन दिवस वा विलय दिवसको सम्झना खातिर प्रतिवर्ष कुर्न कार्यक्रम त मनाइन्थ्यो।
तर सारा सपना चकनाचुर धूलो खरानी। न इतिहास लेखिन्छ न पाठ्य सामग्री भेटिन्छ। सपनामा पनि थाङ्नामा सुताए नि हजुरलाई हैन? १९५० देखि आजसम्म त्यसले निरन्तर नंग्यायो अब च्यापका रौं उखेल्न मात्र बाँकी छ। ‘सपनामा तिमीले देख्यो होला त्यहाँ कसैलाई? कोको थिए?’
‘त्रिशुल अर्थात काकामुख परराष्ट्रमुख र रक्षामुख, तीनैजना थिए। एउटाले टाउको अर्कोले खुट्टा अनि तेस्रोले सन्नी समायो पुगेन? एउटा कोठाभित्र गुपचुप कार्यक्रम नगरा विगुल किन चाहियो? मलाई सोधेका भए हजुरको महत्वाकांक्षा हने बाटो मै देखाइदिन्थे नि।
देश विलय गराएर छ दिने नाटकभित्र राष्ट्रपति हुनुभन्दा आफ्नै देशमा प्रधानमन्त्री हुने उपाय दिन्थे नि। मुलुक विलय त हुने थिएन। हजुरलाई घोडा बनाएर दाना ख्वाएको पनि हो, चम्काएर जोताएको पनि हो। आखिर आफैं मुलुक नष्ट गर्न फेरि तम्सिनु भो हैन? छिः छिः फेरि मान्छे मार्ने।
‘माया अब सपनाका कुरा छोडेर विपना कुरा गर। भन, कसरी म काकामुख (कार्यकारी प्रमुख) हुनसक्छु। म अहिले छट्पटीमा छु। केही त उपाय गर।’
ठीक छ, म उपाय भन्छु नत्र आफैं गएर हजुरका लागि अनुरोध गर्छु। यो मेरो वचन भो। अब भन्नुहोस् केका लागि आफ्नो सरकार आफ्नो संसद र काकामुख विरोधमा उत्रनुपर्यो? कही हजुरले उत्तेजनामा आएर गुटबन्दी गर्र्दै ध्वंस निर्माण गर्नुभएको त हैन?
किन्तु जहाँसम्म मैले बुझेकी छु सीङ जोर्न जानेलाई उनी बाँकी राख्दैनन् र उनको पक्षमा जानेलाई छाता ओढाउन पछि चुक्दैनन्। कसैले उनलाई दागा धरेन भने उनी सन्तवत् पेश आउँछन्। मैले यस्तै बुझेकी छु। पद र पैसाका लागि देश नसाट्नुहोस।’
‘अनि? ’
बस हजुर आफ्नो गल्ती स्वीकार गरेर जानुहोस् उनी हजुरलाई आफू सरहको पद दिनेछन्। अधिकार र शक्तिको कुरा नगर्नुहोला सडक तताएर कतै पुगिन्न। जनता अब हजुरको पक्षमा छैनन्। कार्यकर्ता पनि पनि पन्सिदै छन्। किनकी पहिले नै हामीले धेरै ठूलो अकर्म, अपराध र देशद्रोहीका कदम चालिसकेका छौँ। हजुर आजै जानुहोला नत्र पक्राउ पुर्जि काटिसकेपछि जोगिन सक्नुहुन्न। भ्रष्टाचारको भकारी चुलिएको छ।’
ऊ सुन्दै रह्यो ।
छविमायाले थपी, हजुरलाई एक्लै जाने हिम्मत नभए म सँगै जान्छु। आफैं ड्राइभ गरेर लान्छु। तर त्यहाँ पुगेर सलामको शैली फेर्नुपर्छ र विदेशी सेना बोलाउने सोच र गतिविधि पनि छोड्नुपर्छ नि। अर्काको लागि कम्फर्टेबल बन्ने होइन है, जसरी हिजोसम्म बन्नुभएको थियो भन्याछु, दोहोर्याउनु नपरोस्।
शुक्रबार मुसलमान बन्धुको छुट्टी, शनिबार पूरा सरकारी छुट्टी र आइतबार इसाइहरुको छुट्टी। त्यसैले तीन दिनमा प्रशस्त होमवर्क गर्ने मौका मिल्यो काकामुखलाई। चौथो दिन अर्थात सोमबार छविरमणले रातको प्रधानमन्त्रीको सपथ ग्रहण गर्यो।
विशेष व्यवस्था अन्तर्गत बेलुका ७ बजेदेखि विहान ६ बजेसम्म ११ घण्टा रात्रीकालिन प्रधानमन्त्री भएर झण्डा फहराउने भो छविरमणले। किन्तु हस्ताक्षर र आदेश नचल्ने तथा औपचारिक कार्यक्रम र निर्णयहरुमा सहभागी हुन नपाउने गरी पुतली प्रधानमन्त्रीको रुपमा छविरमण राति राति विजुलीकारमा झण्डा फहराएर घुम्न थाल्यो।
संचारले यस घटनालाई कुनै महत्व दिएन। किन्तु हामीले यो कथा घुमीघुमी धेरैतिर सुनायौं। त्यसपछि केटाकेटीरु स्कुलका विद्यार्थी र बुढाबुढीहरु हाम्रा कथा सुन्न थाले। हामीले भनेका कथामा भाषाको समस्या पनि हुँदैनथ्यो। त्यसैले पनि हाम्रो माग बढ्दै गयो।
आफूले देखेका सुनेका र बुझेका कुरा हामी सुनाउँदै गयौं। हाम्रो दिनचर्या यस्तै रह्यो। रातको प्रधानमन्त्री एक झिल्का एक क्षण र अवलोकन हो हाम्रो पात्राको।
तर नाइकेले विदेशी सेना बोलाउने माहोल चुलाउन छोडेनन्।
जै गोरख ।
Facebook Comment