अन्तर्राष्ट्रिय क्रिकेटमा ‘मलाई थाहा छैन’ नियम आउँदै

डिसी नेपाल
१५ चैत २०७७ १३:५१

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेटमा ‘मलाई थाहा छैन’ नियम आउने भएको छ । भारत र इङल्याण्डबीच भएको टि–२० सिरिजको चौथो टि–२० मा मैदानी अम्पायरको ‘सफ्ट सिग्नल’का विषयमा विवाद आएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) नियम परिवर्तनका लागि तयार भएको हो । चौथो टि–२० मा भारतीय ब्याट्सम्यान सूर्यकुमार यादवलाई थर्ड अम्पायरले आउट दिएपछि यो विषय विवादित भएको थियो ।

खासमा चौथो टि–२० मा सूर्यकुमार यादवले हानेको बल डेविड मलानले समातेका थिए । मैदानका अम्पायरले त्यो क्याच ठिकसँग समातिएको वा नसमाथिएको निश्चित नभएपछि निर्णय थर्ड अम्पायरकहाँ पठाएको थिए । यसरी थर्ड अम्पायरकहाँ पठाउँदा मैदानी अम्पायरले आफ्नो ‘सफ्ट सिग्नल’ आउट दिए । मैदानी अम्पायरको यही सफ्ट सिग्नलमा आधारित रहेर थर्ड अम्पायरले पनि आउट दिएपछि यो विषय विवादित भएको थियो किनकि रिप्लेमा बल भुइँमा छोइएकोजस्तो देखिएको थियो ।

आइसीसीको नियमअनुसार क्याच ठिकसँग समातिएको छ वा छैन भन्ने जान्न थर्ड अम्पायरकहाँ निर्णयको लागि पठाइयो भने मैदानका अम्पायरले ‘सफ्ट सिग्नल’ पनि दिनुपर्छ । यो भनेको मैदानी अम्पायरलाई आफूलाई के जस्तो लागेको छ ? भन्ने हो । अर्थात मैदानी अम्पायरले सफ्ट सिग्नल आउट दिनुको अर्थ उनलाई क्याच ठिकसँग समातिएको छ भन्ने बुझिन्छ भने सफ्ट सिग्नल नटआउट दिए मैदानी अम्पायरलाई क्याच ठिकसँग नसमाथिएको लागेको अर्थमा बुझिन्छ ।

सामान्य भाषामा बुझ्दा सफ्ट सिग्नल निर्णय होइन तर मैदानी अम्पायरले थर्ड अम्पायरलाई आफ्नो राय दिएको वा सिफारिस गरेको हो । नियमअनुसार थर्ड अम्पायरले पर्याप्त प्रमाण भएमा मैदानी अम्पायरको सफ्ट सिग्नलको सिफारिस उल्ट्याउन पनि सक्छन् । तर, मैदानी अम्पायरले आउट वा नटआउटमध्ये एक सिफारिस गर्नेपर्छ । उनले मैले देखिन वा मलाई थाहा छैन भन्न पाउँदैनन् । अब भने मैदानी अम्पायरले तेस्रो अम्पायरलाई मलाई थाहा छैन भन्न पाउने व्यवस्था गर्न लागिएको हो ।

क्रिकबजका अनुसार बिहीबार आइसीसीको बोर्ड बैठकमा बीसीसीआइ सचिव जय शाहले यो विषय उठाएका थिए जसलाई अरु सदस्यहरुले पनि समर्थन गरेका छन् । यसअघि क्रिकेटको नियम बनाउने संस्था मेरिलेबोन क्रिकेट क्लवले पनि सफ्ट सिग्नलमा मलाई थाहा छैन भन्ने विकल्प थप्न सिफारिस गरिसकेको छ । आइसीसीले अब आगामी जूनमा हुने वर्ल्ड टेस्ट च्याम्पियनसिपभन्दा अगाडि यो नियम परिवर्तन गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *