भैरहवा र नेपालगञ्जमा दैनिक उडान थप्दै बुद्ध एयर
काठमाडौं। बुद्ध एयरले काठमाडौंबाट भैरहवा र नेपालगञ्ज हुने दैनिक उडानको संख्या थप गरेको छ। हवाई यात्रालाई सहज बनाउँन बुद्धले दैनिक उडान संख्या थप्न लागेको हो।
उडान संख्या थपेसँगै काठमाडौंबाट भैरहवाकालागि ९ वटा र नेपालगञ्जका लागि ५ वटा दैनिक उडान हुने बुद्ध एयरले जनाएको छ। यस्तै, धनगढीमा पनि एक साताभित्र उडानसँख्या थप्ने एयरले जानकारी दिएको छ।
९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ।
बुद्ध एयरले केही समय अगाडी मात्रै एटीआर–७२ जहाज थप गरेको थियो । यसैगरि आउँदो मे महिनामा अर्को एटीआर–७२ जहाज पनि थप्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए।
जहाज थपिएसँगै ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज बुद्ध एयरसँग रहेको छ ।
बुद्ध एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ ।
Facebook Comment