ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी अझै छलफलमा

डिसी नेपाल
१८ चैत २०७७ २१:२३

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक बिहीबार बिहान बस्ने भएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको अन्तिम तयारी गरिरहेको छ । त्यसका लागि पार्टीले बिहीबार बिहान अनौपचारिक स्थायी कमिटीको बैठक बोलाएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने, कर्णाली प्रदेश सरकार जोगाउने र पछिल्ला घट्नाक्रमका बारेमा बैठकमा छलफल हुनेछ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिने, त्यसो नभए अविश्वासको प्रस्तावमार्फत भएपनि प्रधानमन्त्री ओलीको बर्हिगमन हुने बताएका माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन सकेको छैन।

आफैंले प्रतिगामी घोषित गरेको सरकारलाई समर्थन फिर्ता हुनुपर्ने हैन र? भन्ने नागरिक समाजको प्रश्नमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार एक कार्यक्रममा सरकारलाई दिएको समर्थन फिर्ता नदिन आफूमाथि दवाव रहेको भएपनि छिट्टै समर्थन फिर्ता गर्ने बताएका थिए । सरकारलाई दिएको समर्थन फिर्ता लिने सार्वजनिक रुपमा बताएका केही दिनपपछि प्रचण्डले रानीतिक सक्रियता बढाएका छन्।

मंगलबार प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भेटमा प्रचण्डले देउवालाई सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल भएको थियो। देउवा निकट स्रोतका अनुसार प्रचण्डले कांग्रेसलाई सरकारको नेतृत्व गर्न आग्रह गर्दै सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा छलफल भएको थियो। बिहिबारको स्थायी कमिटीको बैठकमा समर्थन फिर्ता लिनेबारे निर्णय हुने स्थायी कमिटी सदस्य पौडेलले बताए ।

बुधबार खुमलटारस्थित प्रचण्डनिवासमा कर्णाली सरकार जोगाउन माओवादी शीर्ष नेताहरुबीच छलफल भएको थियो । प्रदेश १ मा माओवादीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *