कांग्रेस र जसपाको साथ नपाएपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

डिसी नेपाल
१९ चैत २०७७ १२:३१

काठमाडौं। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नदिने भएको छ। बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको अनौपचारिक बैठकले अन्य पार्टीको ‘पोजिसन क्लियर’ नभएको भन्दै तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नदिने भएको हो।

‘अहिले अन्य पार्टीको पोजिसन क्लियर भएको छैन्, ती पार्टीको पोजिसन क्लियर भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने हो,’ माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश शाहले डिसी नेपालसँग भने, ‘अब केही दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं। मुख्य गरी अन्य पार्टीको पोजिशन क्लियर हुनुपर्छ।’

माओवादीले सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने बताउँदै आएको छ। तर आफूले समर्थन फिर्ता लिएपनि जसपा सरकारमा सहभागी हुन तयार रहेको भन्दै माओवादी अझै केही दिन फर्क र हेरको नीतिमा रहेको एक नेताले बताए।

कांग्रेसले सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताइसकेको छ भने जसपाका माग पूरा गर्न भन्दै सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली नै गठन गरेको छ। जसपाले आफूहरुका माग सम्वोधन भए सरकारलाई समर्थन गर्न सकिने बताएको छ।

समर्थन फिर्ता लिने विषयमा माओवादीले अन्य पार्टीसँग संवाद जारी राखिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका थिए। बैठकमा केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक बोलाउने विषयमा छलफल भएपनि मिति भने तय नभएको शाहले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *